सुदुरपश्चिमका सात पहाडी जिल्लाभन्दा कैलालीको एउटै नगरपालिकामा कोरोना संक्रमित वढी भएका छन् । कैलाली कञ्चनपुरका संक्रमित छोडेर सात पहाडी जिल्लाभरीका संक्रमितभन्दा वढी कैलालीको गौरीगंगा नगरपालिकामा भएका हुन् ।
विहीवार पुष्टि भएका २७ जना मध्ये ६ जना गौरीगंगा नगरपालिकाका रहेका छन् । कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ५ का २०, २३, २३, २४, २४, २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै गौरीगंगामा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । वुधवारसम्म सो नगरपालिकामा २० जना संक्रमित रहेका थिए ।
गौरीगंगा नगरपालिकाभन्दा कम कोरोना संक्रमित प्रदेशका सातै पहाडी जिल्लाहरुमा रहेका छन् । सवैभन्दा वढी वाजुरामा विहीवार कोरोना पुष्टि भएका सहित २१ जना संक्रमित पुगेका छन् । त्यसैगरी अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा १०, बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २० जना निको भएर घर फर्किसकेका छन ।
अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय ७३, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ ।