स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्यले कञ्चनपुरको पुनर्वासमा ६ महिना निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रम हुने भएको छ । पुर्नवास नगरपालिका वडा नम्बर १० मा रहेको लालझाडी युवा क्लबले निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।
क्लबका अध्यक्ष अध्यक्ष काशीराम बोहराका अनुसार कोरोनाका कारणले पनि खेलकुद ठप्प रहेका बेला खेलकुदलाई अगाडी बढाउन र स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्यले भदौ १ गतेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फुटबल प्रशिक्षण कार्यक्रम हुने जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)बाट प्रशिक्षक अनुमति प्राप्त भीम बहादुर भाट सँग समेत ६ महिना करारमा सम्झौता भइसकेको क्लबले जनाएको छ । फुटबल प्रशिक्षणमा १२ वर्ष माथिकालाई मात्रै समावेश गरिएकोले इच्छुकले साउन २८ गते अर्थात् आज बिहीबार सम्म फाराम भर्न सकिने क्लबका अध्यक्ष बोहोराले जानकारी दिए ।
यस्तै प्रशिक्षणका लागि आवश्यक पर्ने खेलकुदका सामाग्रीहरू क्लबले व्यवस्थापन गर्ने जनाएको छ । हाल सम्म विभिन्न व्यक्तिहरूले क्लबलाई ८० वटा जर्सी र ७९ वटा फुटबल सहयोग प्राप्त भएको क्लबले जनाएको छ । क्लबले खेलकुदका विभिन्न प्रतियोगिताहरूको आयोजना गर्दै आइरहेको छ ।