कैलाली काँग्रेसका क्षेत्रीय सभापति धर्नामा : थाहा नदिई सदस्य थपिएको भन्दै विरोध
2021/08/13, 1:15
 
ss

कैलालीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षबाहेकलाई निषेध गरिएको भन्दै कैलाली–१ का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा छन् । कैलाली क्षेत्र नम्बर–१ मा ५८२ क्रियाशील सदस्य थप्न आफूलाई जानकारी नदिइएको उनको आरोप छ ।

“कैलालीमा सभापति शेरबहादुर देउवा पक्षबाहेकलाई राजनीतिमै निषेध गर्ने प्रयास भएको छ,” क्षेत्रीय सभापति अधिकारीले भने, “विभिन्न आरोपमा कारबाही गरेर पार्टीबाटै निकाल्नेदेखि पार्टी कब्जा गरेर अरूलाई निषेध गर्ने प्रयास भइरहेको छ ।” उनले आफू क्षेत्रीय सभापति भए पनि त्यही क्षेत्रमा केन्द्रबाट फर्जी निर्णयमा सदस्य थपिएको बताए ।

प्रधानमन्त्रीपत्नी आरजु राणा देउवा चुनाव लडेको जिल्ला कैलालीमा देउवा पक्षलाई असहयोग गरेका नेता–कार्यकर्तालाई एकसाथ कारबाही गरिएको थियो । पार्टीका पूर्वसहमहामन्त्री तथा पटक–पटक मन्त्री भएका तनहुँका गोविन्दराज जोसीलाई कारबाही गर्दा कैलालीका पूर्वसांसद तथा पूर्वमन्त्री पुष्करनाथ ओझा पनि कारबाहीमा परेका थिए । उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ भने उनीसँगै धेरै नेता–कार्यकर्ता कारबाहीमा परेका थिए ।

क्षेत्रीय सभापति अधिकारीले बाहना भए कारबाही गरेर पार्टीबाट निष्कासन गर्ने, बाहना नभए महाधिवेशनमा कब्जा गर्ने रणनीतिका कारण आफू धर्ना बसेको बताए ।

“एउटा वडामा प्रक्रियाबाहिरबाट ५८२ जना थपेर पार्टी कब्जा गर्न खोजिएको छ,” अधिकारीले प्रश्न गरे, “के सभापति देउवाको गुटमा आबद्ध नहुनेले कांग्रेसमा बस्न नपाउने हो ? कांग्रेस मात्र भएर राजनीति गर्ने छुट नपाइने हो ?”

उनले कैलालीबाट आफूसहित २५ नेता–कार्यकता धर्नामा रहेको जानकारी दिए । अधिकारी भने हरेक दिनजसो अरूभन्दा अगाडि सानेपामा पुगेर धर्नामा बस्छन् ।