भीमदत्तमा ५ वटा वडा कार्यालय भवन निर्माण सम्पन्न
2021/08/14, 11:34
 
ss

कञ्चनपुरको भीमदत्त नगरपालिकाले आफ्नै वडा कार्यालय भवन निर्माण कार्यलाई तीव्र रुपमा अघि बढाएको छ। स्थानीय तहको सरकार बनेसँगै केही वडा कार्यालयको सेवा भाडाको घरबाट सुरु गरिए पनि अहिले नगरपालिकाले आफ्नै भवन निर्माण गरिरहेको हो। अहिले नगरपालिकाले ५ वटा आफ्नै वडा कार्यालय भवन निर्माण गरी सेवा दिइरहेको छ। नगरपालिकाले वडा नम्बर २, ६, १२, १५ र १७ मा सामुदायिक भवनको रुपमा पनि प्रयोग गर्न सकिने गरी सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरेको हो।

नगरपालिकाका इन्जिनीयर हिमाल सिंह ऐरले पाँच वटा वडा कार्यालय भवन निर्माण भईसकेको र अन्य निर्माणका चरणमा रहेको बताए। उनकाअनुसार गत आर्थिक वर्षमा मात्रै सात वटा वडा कार्यालय भवन निर्माण कार्यलाई अघि बढाईएको छ । वडा नम्बर ३, ५, ७, ९, ११, १४ र १९ को कार्यालय भवन निर्माण पक्रिया सुरु भइसकेको छ भने अन्य वडा कार्यालय भवन निर्माण कार्य अघिल्ला आर्थिक वर्षमा नै सुरु भईसकेको इन्जिनीयर ऐरको भनाइ छ।  

वडा नम्बर १, १८ र ४ को कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। भीमदत्त नगर प्रमुख सुरेन्द्र विष्टले संघियता प्रणालीअनुसार स्थानीय तहको सरकारले सेवा दिरहेको बताए। उनले नागरिकलाई वडा स्तरबाटै सहज रुपमा सेवा दिन पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको बताए।

नागरिकलाई सहज सेवा प्रवाह गर्नका लागि नगरपालिकाले आवश्यक पूर्वाधारसहित जनशक्ति व्यवस्थापन गरेको छ। नगर प्रमुख विष्टले भने “सुरुवती चरणमा भाडाको घरबाट सेवा सुरु गरेका थियौँ, अहिले नगरपालिकाले सबै वडामा कार्यालय निर्माण गर्ने योजना बनाएको छ, सोही अन्तर्गत कतिपय सम्पन्न भईसकेका छन् भने अधिकांश निर्माणाधिन अवस्थामा छन्। 

कार्यालय भवन निर्माणपछि वडाको सेवा प्रभावकारी बन्दैँ गएको छ। वडा नम्बर २ का अध्यक्ष डम्बर सिंह(डिके) कार्कीले वडा कार्यालय भवन निर्माणपछि सेवा प्रवाहमा सजह भएको बताए। उनकाअनुसार भाडाको घरबाट वडा कार्यालय सञ्चालन गर्दा ठाउँ अभावले सेवा सम्पादन जटिलतासँगै नगरपालिकालाई आर्थिक भार पनि थपिने गरेको थियो।