नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा आउँदो मंसिरमा पार्टीको प्रदेशस्तरीय सम्मेलन र पुसमा राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश भएको छ ।
आज (शनिबार)बाट सुरु भएको उक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरेका हुन् । प्रदेश सम्मेलन मंसिर १५ गते तथा राष्ट्रिय सम्मेलन पुष ११ देखि १३ गतेसम्म गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले पेश गरेको बताइएको छ ।
जारी केन्द्रीय समिति बैठकमा राजनीतिक एवं सांगठनिक प्रतिवेदन पेश गर्दै उक्त प्रस्ताव राखेका हुन् । यसैगरी भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने समेत प्रस्तावमा समेटिएको छ । साथै आउँदो असोज १० गते पार्टीको सेल र टोलस्तरी भेला तथा २० गते वडा सम्मेलन गर्ने जनाइएको छ । असोज ३० गते पालिकास्तरीय सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन प्रस्ताव समेत रहेको जनाइएको छ ।
प्रचण्डद्वारा पेश गरिएका प्रस्तावहरुमाथि केन्द्रीय समितिमा समूहगत रुपमा छलफल हुने भएको छ । ८ समूहमा भोलि बिहानसम्म छलफल हुने र छलफलको निष्कर्ष बैठकमा पेश गरिने जनाइएको छ ।