सुदूरपश्चिममा ब्राउन सुगरको अबैध व्यापार र कुलत भयावह 
2021/08/14, 3:07
 
dd

३१ असार २०७८ मा कैलाली टीकापुर नगरपालिका-६ नारायणपुर शिबिरबाट  बैदी बस्ने ३६ वर्षीय लोकेन्द्र साउँद २८ वर्षीय धन सिंह सुनार १४.९७ ग्राम ब्राउन सुगर (खैरो हिरोईन) सहित पक्राउ परे । १ साउन २०७८ मा कैलालीको गौरीगंगा नगरपालिका-४ राजीपुरबाट स्थानीय २१ वर्षीय अर्जुन साँउद ११० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परे ।

२ साउन २०७८ मा भजनी नगरपालिका-८ सुनाफाँटामा  धनगढी उप–महानगरपालिका – ८ का २६ वर्षीय दिनेश सुनार र टिकापुर नगरपालिका-१ शंकरपुरका २० वर्षीय राजेन्द्र रेग्मी ५०० मिलिग्राम सहित पक्राउ परे । प्रहरीले उनीहरु चढेको से.२ प ८५० नम्बरको मोटर साईकल समेत बरामद गर्यो । १२ साउन २०७८ मा धनगढी उप–महानगरपालिका–२ चौराह स्थित सि.टि.होटलबाट धनगढी उप-महानगरपालिका-१ का २८ वर्षीय सुरज पार्की ६ ग्राम लागु ब्राउन सुगर सहित पक्राउ परे ।

१४ साउन २०७८ मा कैलाली भजनी नगरपलिका –१ स्थित कौवाखेडा घाटबाट भारत उत्तरप्रदेश लखिमपुर खिरी जिल्ला गंगानगर ग्राम पञ्चायत रणनगर गाउँ का २५ वर्षीय जितेन्द्र सिंह १२ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परे ।जिल्ला प्रहरी कार्यालयले पठाउने प्रेस बिज्ञप्तिमा प्रत्येक दिन एउटा सूचना एउटै प्रकृतिको हुन्छ, लागु औषध सहित यति जना पक्राउ । पक्राउ पर्नेको संख्या र ती व्यक्तिबाट बरामद हुने ब्राउन सुगरको मात्रा फरक भएपनि समाचार भने एउटै प्रकृतिको हुन्छ ।

माथिका पाँच वटा घट्नाले पनि यही कुराको पुष्टि गर्छ । हरेक दिन जसो ब्राउन सुगर सहित युवाहरु पक्राउ परिरहेका छन् । युवाहरु ब्राउन सुगर सहित पक्राउ पर्नु अब त सामान्य हुन थालिसक्यो । तर यसले सुदूरपश्चिममा ब्राउन सुगरको अबैध व्यापार र यसको कुलतमा फसिरहेका युवाहरुको संख्याले अव यो समस्या सामान्य होईन, बिकराल भईसक्यो, यसले यही संकेत गर्छ ।

यति भयावह रुपमा फैलिईसकेको लागु औषधको जालो चिर्न र यसमाथि नियन्त्रण पाउन प्रहरीलाई मुस्किल भईसकेको छ । अब यो समस्या कुनै एक ठाउँमा सिमित रहेन । र यसमा एउटै उमेर समूह वा समुदायका युवाहरुमात्र फसेका छैनन । सबै उमेर समूह, भूगोल र बिभिन्न समुदायका व्यक्तिहरु यसको शिकार भईरहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूर पश्चिममा आर्थिक वर्ष ०७७/७८ मा ३९२ मुद्दा दर्ता भए । जसमध्ये कञ्चनपुरमा सबैभन्दा बढि १४१ मुद्दा दर्ता भए । कैलालीमा ९१ मुद्दा दर्ता भए । यो अबधिमा लागु औषध कारोवार तथा प्रयोगकर्ताका रुपमा पक्राउ पर्नेमा १० जना भारतीय नागरिक पनि थिए ।यसअघि ०७६/७७ मा यही प्रकृतिका २७० मुद्दा दर्ता भएका थिए । त्यसमध्ये यो मुद्दा चलाईनेमा ९ जना पुरुष र एक महिला भारतीय थिईन ।

त्यसअघि ०७५/७६ मा लागु औषधका २२१ मुद्दा दर्ता भएका थिए । १७ भारतीय पुरुषमाथि समेत यो मुद्दा चलाईएको थियो । तीन वर्षको आँकडा र अवस्था हेर्ने हो भने ब्राउन सुगरको अबैध व्यापार र यसको सेवनको अवस्थाले विकराल रुप लिदै गरेको देखिन्छ, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भरत चौधरी भन्छन् यसमाथि नियन्त्रण पाउनु गम्भीर चुनौती बनेको छ ।

‘भारतीय भूमिबाट हुने यसको अबैध व्यापारलाई नेपाल प्रहरीले मात्र चाहेर नियन्त्रण पाउन सजिलो छैन’, डिएपसी चौधरीले भने, ‘भारतीय प्रहरीसंगको सहकार्य र समन्वयमा यसमाथि नियन्त्रण पाउन सकिन्छ । हामी यही कोसिसमा छौ।’

ब्राउन सुगरको कुलतमा एउटा पिढी नै गुमाउने अवस्था रहेको उनको भनाई छ । ‘कुलतका कारण समाजमा अपराधिक घट्नामा समेत बृद्धि भएका छन्’, उनले भने, ‘लागु औषध नियन्त्रण तथा लागु औषधको कुलतमा फसेकाहरुको पुनस्र्थापनाका लागि साझा पहल आवश्यक छ ।’