धनगढी–स्याउले सडकखण्ड फराकिलो मात्रै होईन गुणस्तरीय पनि बनाईन्छ
2021/08/14, 3:52
 
dd

काग्रेंस नेतृ डाक्टर आरज राणा देउवाको पहलमा धनगढी–स्याउले सडकखण्ड फराकिलो बनाउने तयारी थालिएपछि स्थानीय वासिन्दा खुशी भएका छन् । धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि सो सडकको धनगढी–स्याउले खण्डमा कालोपत्रे निर्माणका लागि सडककको चौडाई काग्रेंस नेतृ डाक्टर आरजुको पहलमा फराकिलो बनाउने तयारी गरिएपछि स्थानीय वासिन्दाहरुले सडक निर्माणमा आफु पनि सहभागी हुने बताएका छन् । 

खड्का कृष्ण नारायणम जेभीले भ्याट बाहेक १६ करोड ४० लाखमा ठेक्का पाएपछि धनगढीको पिपल चौतारादेखि स्याउलेसम्मको १३.४ किलोमिटरमा कालोपत्रे गर्नका लागि काम सुरु भएकोमा डाक्टर आरजुको पहलमा सडकको चौडाई फराकिलो बनाईदैछ । त्यसका लागि आयोजना कार्यालयलाई सडक विभागले मौखिक निर्देशन समेत दिईसकेको छ भने विभागले पनि त्यसको तयारी सुरु गरेको छ । 

५.५ मिटर चौडाई रहेको सडक काग्रेंस नेतृ डाक्टर आरजुको पहलपछि ७  मिटर चौडाई बनाउन आयोजना कार्यालयलाई विभागले निर्देशन दिएको थियो । सडक फराकिलो बनाउने विषयमा आयोजना प्रमुख खगेन्द्र शाही काठमाण्डौंमा रहेका छन् । उनका अनुसार सडक फराकिलो बनाउन लागत अनुमान बनाउन विभागले भनेको छ । लागत अनुमानका आधारमा हाल सडक कालोपत्रे पाएकोलाई रकम थप्ने की फेरि नयाँ टेण्डर गर्ने भन्ने विषयमा टुङगो लाग्न बाँकी रहेको आयोजना प्रमुख शाहीले जानकारी दिए ।

मोहनापुल अत्तरिया सडक खण्डको वैकल्पिक सडकको रुपमा रहेको धनगढी खुटिया सडक निर्माणका लागि सहयोग गर्न तयार रहेका स्थानीय वासिन्दाले खबरदारी समेत गर्ने बताएका छन् । यसअघि ओटासिल प्रविधिको सडक निर्माण लगत्तै भताभुङग भएको स्मरण गर्दै स्थानीयहरुले सडक फराकिलोका साथै गुणस्तरीय बनाउन पनि दबाब र खबरदारीमा लाग्ने बताएका हुन् । सडकका कारण विगतमा धेरै दुःख पाईएकोले अब सडक राम्रो र गुणस्तरीय बनाउन आफुहरु लागिसकेको स्थानीय अरुण जोशीले बताए । उनका अनुसार स्थानीय युवाहरु सडक सम्झौता अनुसार काम भए नभएको हेर्ने र अनुगमन गर्ने काम गर्दै आएका छन् । त्यसका लागि स्थानीय युवाहरुको ठाउँ ठाउँमा समुह समेत बनाईएको छ । 
सडक खण्ड चौडाई हुने भएपछि त्यसको गुणस्तरीय निर्माणका लागि पनि दबाब दिन स्थानीय अभियन्ता युवाहरु अग्रसर भएका छन् । उनीहरुले सडक खण्ड डिजाईन ईस्टिमेट अनुसार सडक निर्माणको काम गर्न निर्माण कम्पनीलाई दबाब दिदैं सोही अनुसारको अनुगमन पनि गरिरहेका छन् । सडक खण्ड गुणस्तरीय बनेमा मात्रै सडक निर्माणले सार्थकता पाउने भएकोले आफुहरु पनि लागेको स्थानीय युवा अभियन्ताहरुको भनाई रहेको छ । 

सडकमा दैनिक रुपमा सयौको संख्यामा ट्याक्टर र ट्रकहरुले ढुङगा गिट्टी वालुवा ल्याउने सडक भएकोले पनि बलियो बनाउन स्थानीयहरु अग्रसर भईरहेका छन् । लामो समयदेखि अलपत्र सडकको निर्माणको काम भईरहेको अवस्थामा चौडाई फराकिलो बनाउने भएपछि यसले सहजता ल्याउने आशा सहित स्थानीय वासिन्दाहरु गुणस्तरीय निर्माणका लागि पहलेदारीको रुपमा लागिरहेको अर्का स्थानीय गोपाल चौधरीले बताए । 

सो सडक खण्डको बाटो चलनचल्तीमा १५ मिटरको चौडाई रहेको छ । ७ मिटरको चौडाई कालोपत्रे भएमा केही क्षेत्रमा नाली निर्माणपछि पनि बँच्ने देखिएको छ । त्यसमा आवतजावत सहजताका लागि साईकल ट्रयाक बनाउनुपर्ने आवाज स्थानीयहरुले उठाईरहेका छन् । फाष्ट ट्रयाकको चौडाई ३० मिटर रहेको भएपनि धनगढी स्याउले खण्डमा १५ मिटरको चलनचल्तीको बाटोलाई सदुपयोग गर्न सकेमा साईकल यात्राका लागि उपयुक्त हुने स्थानीयको आशा रहेको छ । सडकको चौडाई फराकिलो बनाउन पहल गरेकी काग्रेंस नेतृ डाक्टर आरजु राणा देउवाको सचिवालयले पनि बाँकी रहेको सडकखण्डको चौडाई बढाउनुका साथै कालोपत्रे पनि बलियो बनाउन विभागलाई निर्देशन भईसकेको जनाएको छ ।

खाली जमीन राखेमा अतिक्रमण हुन सक्ने भएकोले त्यसलाई अतिक्रमण हुन रोक्नका लागि पनि साईकल ट्रयाक खोल्नुपर्ने स्थानीयको माग रहेको तथा हाल सकड कालोपत्रेको गुणस्तर केही कमसल खालको रहेकोले पनि त्यसलाई गुणस्तरीय बनाउन सडक विभागलाई काग्रेंस नेतृ डाक्टर आरजु देउवाले भनिसकेकको उनका स्वकीय सचिव प्रकाश देउवाले बताए ।

२०६४ सालमा खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रुपमा सर्वे गरी ट्रयाक खोल्न थालिएको थियो । त्यसबेला खुटियादेखि दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि पूर्वपश्चिम राजमार्गदेखि धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो । धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार यस आर्थिक वर्षमा धनगढीदेखि १३.४ किलोमिटर र दिपायलदेखि ९.५ किलोमिटर सडकमा कालोपत्रे गर्ने सम्झौता भएको छ ।

आयोजनाका अनुसार स्याउलेदेखि दक्षिणतिर एक किलोमिटरसम्म दुवैतर्फ नाली समेत निर्माण हुनेछ । अब सो नाली सडकको चौडाई बढेसँगै सडकको नाली पनि पछाडी बनाउनुपर्ने स्थानीय वासिन्दाहरुको माग रहेको छ । धनगढी–दिपायल द्रुतमार्गको साढे ४१ किलोमिटर खण्डमा अझै ट्रयाक क्लियर भइसकेको छैन । आयोजना कार्यालयका अनुसार डोटी खण्डमा ट्रयाक काट्ने काम सकिएको भए पनि त्यसलाई फिनिसिङ गर्न बाँकी छ भने कैलाली खण्डमा पर्ने बबैनामा तीन किलोमिटरमा ट्रयाक खोल्न बाँकी छ ।

कैलालीमा हाटखोलीदेखि ओझेनासम्मको २० किलोमिटरर डोटीमा तिखाभन्दा अगाडिदेखि विपिनगरसम्म ट्रयाक काट्नका लागि ठेक्का लिने ठेकेदारले ठेक्का पूरा गरेका छैनन् । ती ठेकेदार कम्पनीहरूले सम्झौता अनुसार काम सकेर ठेक्का पूरा गरेपछि मात्रै सो खण्डमा थप काम अगाडि बढाउन सकिने आयोजना कार्यालयले जनाएको छ ।