बाघसँगको लडाइँ जित्ने बहादुरहरू
2021/08/15, 10:06
 
dd

छिल्लो समय वन्यजन्तु र मानवबीच द्वन्द्व रहेको देखिन्छ । जनसंख्या वृद्धिसँगै वनजंगलको विनाश हुँदै गएपछि वन्यजस्तुको बासस्थान नासिँदै गएको छ । अन्ततः बेलाबेखत द्वन्द्वका घटना देखिँदै आएका छन् । कतिपय व्यक्तिहरू वन्यजन्तुसँगको मूठभेडलाई आफ्नो पराक्रमसँग जोडेर वस्तुकलामार्फत चित्रण गरेको पाइन्छ भने कसैको पराक्रमबारे गाउँघरमा मुक्तकण्ठले प्रशंसा समेत गरिन्छ भने संरक्षणकर्मीले वनजंगलमाथि मानवीय गतिविधि बढेपछि द्वन्द्वात्मक अवस्था सिर्जना भएको बताउँछन् । वन्यजस्तु र उनीहरूको वासस्थानबारे संवेदनशीलता अपनाउनुपर्ने जोड संरक्षणकर्मीको छ ।

जसले दहाड्दै आएको बाघिनीको मुखमा मुक्का बजारे !

कैलालीको भजनी नगरपालिका–९ डोङ्गपुर गाउँका ६५ वर्षीय बुधराम डंगौरा थारुले २ डमरु सहितको बघिनीसँगको लडाइँ जितेपछि आफ्नो घरको भित्तामा मानव र बाघबीच लडाइँ गरिरहेको अवस्थाका कलाकृति कोर्न लगाएका छन् ।

विक्रम संवत् २०५७ साउन १५ गतेको कुरा हो, सदाझै बुधराम त्यो दिन पनि बरका बनुवा (ठूलो वन) अर्थात् बसन्ता वन क्षेत्रमा बंगुर चराउन गएका थिए । उनले ८० बढी बंगुर पालेका थिए । बिहानै गाउँको चिराकीले बाघ देखिएकाले वनमा नजान गाउँलेलाई सचेत गरेका थिए तर बुधरामले मानेनन् ।

उनी साथीहरूसँगै बंगुर चराउन जंगल पसे । साथीहरू प्राकृतिक सोनिया ताल छेउमा जंगलमा भेटिएको च्याउको तरकारी पकाइरहेका थिए । साथीहरूले नखोजेको ठाउँमा बुधराम बञ्चरो साथमा लिएर च्याउ खोज्न जंगलको भित्रैसम्म पसे । उनी च्याउ खोज्दै थिए । उनले आफू भएको ठाउँभन्दा केही दूरीमा २ वटा डमरु सहितको पाटे बघिनी देखे । सँगै भएका साथीहरू रुखमा चढिसकेका रहेछन् । उनलाई कुनै उपाय सुझेन । 

पाटे बघिनी दहाड्दै उनीतर्फ आयो । उनले छेउमा राखेको बञ्चरो समाउन नपाउँदै बाघले झम्टिहाल्यो । बाघको पञ्जा बुधरामको शरीरमा थियो । उनले बाघको दुवै कान समाउन भ्याइहाले । राति पानी परेकाले ताल छेउमा घुँडासम्म पानी थियो । गाउँकै बलियो मान्छे बुधरामले बाघले आक्रमण गरिरहेपनि कान छोडेनन् । बाघको आक्रमणबाट बुधरामको भुडी निस्किसकेको थियो । शरीरभरी घाउ नै घाउ थियो तर पनि उनी बाघसँग लडिरहे । बाघले उनको घाटीमा आक्रमण गर्न खोज्यो । 

उनी भन्छन्, ‘बाघले घाँटीमा आक्रमण गर्न खोजेपछि मैले चिच्याएर भने – त मलाई मार्छस् भने म पनि तँलाई मार्छु । १ हात बाघको कान समाते अर्को हातले बाघको मुखमा मुड्कीले बजार्न थाले ।

मुड्कीले बाघको मुखमा बजार्दै पानीमा चोपी दिए । केहीबेर पानीमा चोपेपछि बाघ थाक्यो । थाकेको महसूस गरेपछि छोडिदिए ।’ सँगै रहेका कन्हैया चौधरीले बाधुरामको साहसको प्रशंसा गर्दै भने, ‘बाघलाई देखेपछि म त रुखमाथि चढें । केही गर्न सकिएन तर साथीले साहसपूर्वक बाघसँग लड्यो र विजय हासिल गर्‍यो ।’

बाघको मुखमा बोरा कोचिदिएका लौटन

धान रोपाइँ सकिएपछि कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुरका ५८ वर्षीय लौटन डंगौरा थारुको प्रमुख दिनचर्या नजिकैको वनमा गएर च्याउ खोज्नु हुन्थ्यो । २०५९ असोज २४ गतेको कुरा हो, अरु दिनझै उनी गाउँकै साथी फागुराम चौधरीलाई लिएर बरका बनुवा (ठूलो वन) अर्थात् बसन्ता वन क्षेत्रमा च्याउ खोज्न भनेर निस्के । च्याउ टिप्दै जाँदा वनको बीच भागसम्म पुगेको लौटन बताउँछन् । घर फर्किने बेला उनले बँदेल खेलेको स्थान भेटे । त्यहाँ पुग्ने बित्तिकै बाघले दहाड्दै झम्टेको उनी बताउँछन् ।

घटनाक्रम सुनाउँदै उनले भने, ‘एक्कै चोटी पञ्जाले आक्रमण गरेर मेरो टाउको आधा भाग र गलाको छाला निकालिदियो । हामी २ हात बराबरको दूरीमा थियौं । उसले (बाघ) मुख अअ गरेपछि हातमा भएको बोरा नै उसको मुखमा कोचिदिए । दाँतमा बोरा अड्किएपछि भाग्यो । म पनि हातमा बञ्चरो लिएर गाउँतिर फर्किए । मसँग रहेका साथीले रुखमा चढेर ज्यान जोगाए तर उनीहरूले २४ घण्टासम्म रुखमै बिताउनुपर्‍यो । रातभरि त्यो बाघ रुखमुनि थियो रे ! अर्कोदिन गाउँलेहरूले उनलाई उद्धार गरेर ल्याए ।’

एक हातमा बञ्चरोसहित जंगलबाट रक्ताम्य भएर बस्ती पुगेका आफूलाई देखेर जो कोही पनि डराएका उनी बताउँछन् । बाटोमा भेट हुने धेरैलाई आफूसँग भएको लुगाले घाउमा बाँधिदिन अनुरोध गरेको तर डराएर भाग्ने गरेको लौटन सुनाउँछन् । त्यसताका माओवादी जनयुद्ध उत्कर्षमा पुगेको थियो । सो क्षेत्रमा छापामार लडाकूहरूको सेल्टर वनसँग जोडिएका बस्तीमा नै हुन्थ्यो । पछि माओवादीका लडाकूरूरुले नै नजिकैको बसौटी स्वास्थ्य चौकीसम्म पुर्‍याएको उनी बताउँछन् ।

बाघको पञ्जा लागेर उनको अनुहारको हड्डी भाँचिएको छ भने अनुहारभरि ठूलो दागको निशान अहिले पनि छ । उनले भने, ‘यति ठूलो बाघसँगको लडाइँ मेरो जीवनको अभिन्न हिस्सा हो । अहिले शरीरमा धेरै अप्ठ्यारो महसूस नभए पनि आँखामा भने केही समस्या त्यही घटनाले भएको छ । आजभोलि बाघसँग जम्काभेट भएको सो स्थानलाई ‘बाघ झप्टला’ अर्थात् बाघ झम्टिने ठाउँ भन्ने गरिन्छ ।’

बँदेल ठानेको त बाघ निस्क्यो !

बाघसँगको जम्काभेट तथा आमनेसामने भएर बाघलाई प्रत्यक्ष देखेको घटना आज पनि ताजै लाग्ने गरेको बताउँछन्, कैलारी गाउँपालिका–६ बेनौलीका परशुराम डंगौरा थारु ।  २०५८ ताका उनी पनि बरका बनुवा (ठूलो वन) मै च्याउ खोज्न गएका थिए । सोही क्रममा पाटे बाघसँग आमनेसामने भएको परशुराम सुनाउँछन् ।

उनले भने, ‘साथीहरूभन्दा म अलि पर थिए । केही पर बँदेल कराए जस्तो सुने । एकैछिनमा त मेरो अगाडि भएर उफ्रिएर गयो । पुनः फर्कियो । अगाडि आएपछि भाग्नु हुन्न भन्ने थाहा थियो । भागिनँ । मेरो सामुन्ने आएर मुख खोलेर दहाड्न थाल्यो । म पनि के कम ? उसकै मुखमा हँसिया राखिएको कट्टाले हिर्काइदिएँ । पछि उ भागेपछि घर फर्र्किएँ ।’ बाघको आक्रमणबाट भने जोगिएको बताउने परशुरामले बाघलाई भगाउन त्यो बेला चर्काे स्वरले कराउँदा–कराउँदै १ हप्तासम्म आफ्नो आवाजै गुमेपछि इशाराले परिवारसँग सम्पर्क गर्नुपरेको सम्झिन्छन् ।

कालको मुखबाट जोगियो: दुर्गा

पाटेबाघसँगको त्यो जम्काभेट र आक्रमणमा परेर गम्भीर घाइते बनेका कैलारी गाउँपालिका–८ दुधियाका २९ वर्षीय दुर्गा चौधरी कालको मुखबाट फर्किएको बताउँछन् । उनी २०७७ माघ ३० गते बिहेमा प्रयोग गर्न पात टिप्न गाउँ नजिकैको सामुदायिक वनमा गएका थिए । सो क्रममा उनलाई पछाडिबाट बाघले आक्रमण गरेको थियो । 

बाघले २ पटक घिसारेको बताउँदै उनले भने, ‘पछाडिबाट आक्रमण गरेपछि २ पटक यताउता मलाई घिसार्‍यो । तेस्रो पटक आउन थालेपछि उ भएतिर फर्किएर लौरो लिएर हिर्काउनलाई तयार बसे । पछि सामुन्ने आएर बस्यो ।  आधा घण्टापछि गाउँलेहरू आएर होहल्ला गरे र मलाई उद्धार गरे ।’ दुर्गाको पिठ्यूँमा बाघको पञ्जाको निशान रहेको छ ।

उपचार खर्च दिइएन

वनजन्तुले क्षति तथा हानी नोक्सानी पुर्‍याएको वा चोट लागेको अवस्थामा पीडितले राज्यबाट राहत तथा उपचार खर्च पाउने व्यवस्था गरेको छ तर उपचार खर्च हालसम्म नपाएको गुनासो गरिएको छ । गत वर्ष बाघको आक्रमणबाट घाइते भएका दुर्गा चौधरीले हालसम्म उपचार खर्च नभएको बताए ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले वन्यजन्तुबाट पीडितले नजिकैको निकुञ्ज तथा आरक्षबाट राहत पाउने भएकाले पीडित दुर्गा चौधरीको उपचार खर्चको लागि तयार पारिएको फाइल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाइएको बताए । नियमानुसार उपचार खर्च चाँडै पाउने कँडेलले बताए ।

सकारात्मक उपलब्धिको नकारात्मक परिणाम 

कैलालीको बरका बनुवाको नामले चिनिने बसन्ता जैविक मार्ग, राजघाट, अण्डैया, तालबन्द, डुडेझारी, बारावन र फल्ले विसौनी क्षेत्र बाघ पुस्तैनी वासस्थान रहेको बताइन्छ । राष्ट्रिय प्रकृति संरक्षण पुरस्कारबाट पुरस्कृत संरक्षणकर्मी विजय श्रेष्ठका अनुसार बाघ पुस्तौंदेखि कैलालीकै जंगलमा रहेको बताउँछन् । ‘समय–समयमा बाघ र मानवबीचको लडाइँले वर्षौदेखि कैलालीमा बाघ रहेको पुष्टि गर्दछ,’ श्रेष्ठले भने, ‘बाघहरू बाहिरबाट आएको नभई कैलालीकै बाघ हुन् । हामीले त वर्षौंदेखि कैलालीमा बाघ छ भन्दै आएका थियौं तर कसैले पनि पत्याएका थिएनन् ।’

वन्यजन्तु प्रकृतिका अनुपम उपहार रहेको बताउँदै संरक्षणकर्मी श्रेष्ठले वन संरक्षणको सकारात्मक उपलब्धिको नकारात्मक परिणाम केही द्वन्द्वान्त्मक घटना रहेको बताए । जोखिम न्यूनीकरणको लागि मानिसले नै संवेदनशीलताका साथ सचेतता अप्नाउनुपर्ने उनको भनाइ छ । डिभिजन वन कार्यालय कैलालीका प्रमुख कँडेलले जैविकमार्ग सुरक्षित बनाउनु नै मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउने उत्तम विकल्प रहेको बताए ।  नेपालमा २००८ सालमा गरिएको बाघ गणना अनुसार १२१ वटा पाटेबाघ फेला परेका थिए भने २०१८ सालमा २३५ र २०२२ सालमा २५० वटा पुर्‍याउने लक्ष्य सरकारको छ ।