सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयमा सामाजिक विकास मन्त्रीकी सम्धीनी राज चल्न थालेको आरोप लागेको छ । सामाजिक मन्त्रीमा गत जेठ १४ गते नियुक्त भएका लालबहादुर खड्काको निजी सचिवालयमा आफ्नी सम्बधीनी लिलावती विष्ट भाटलाई गैरकानुनी रुपमा ल्याएपछि उनको राज चल्न थालेको आरोप लागेको हो ।
मन्त्रीको सचिवालयमा ल्याईएकी भाटको मनोमानी बढ्दै गएपछि सामाजिक विकास मन्त्रालयका कर्मचारी आतंकित भएका छन । मन्त्री खड्काले नीजि सचिवलयमा सम्धिनी लिलावती विष्ट भाटको गैरकानुनी काज सरुवा गराएर ल्याएपछि मन्त्रालयमा मन नपरेका कर्मचारीलाई लखेट्ने, आफन्त र नजिकका कर्मचारीलाई पोस्ने काम भईरहेको आरोप मन्त्रालयका कर्मचारीहरुले लगाएका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा सिनियर अनमी रहेकी लिलावती विष्ट भाटलाई मन्त्री भएको ८ दिनमै जेठ २१ गते नगरपालिकालाई पत्र लेखेर काजमा खटाउन आदेश दिइएको थियो । मन्त्रालयको आदेशका आधारमा उनलाई मन्त्रालय पठाईएको भिमदत्त नगरपालिकाका सुचना अधिकारी हरिसिंह धामीले बताए । स्थानीय तहको कर्मचारीलाई सरुवा गर्नका लागि संघीय सरकारको अनुमति लिनुपर्ने भएपनि मन्त्रालयले नियम विपरित ठाडो आदेशमा पत्र लेखेर उनलाई मन्त्रालय बोलाएको हो । सुचना अधिकारी धामीले मन्त्रालय पत्र पठाएपछि पठाउनुपर्ने बाध्यता आएको गुनासो गरे ।
स्थानीय तहको कर्मचारीलाई प्रदेशको कुनै पनि मन्त्रालयले सिधै काजमा खटाउन आदेश दिन नपाउने कानूनी व्यवस्था छ । प्रदेश सरकार मातहतको कार्यालयमा स्थानीय तहको कर्मचारी काम गर्न खटाउने निर्णय गर्न संघीय सरकारको सामान्य प्रशासन मान्त्रालयले मात्रै पाउँछ । त्यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत संघीय सरकारलाई अनुरोध गर्नुपर्ने हुन्छ । तर मन्त्री खड्काले भने अधिकृत छैठौंको दरबन्दीमा सहायक पाचौँकी सम्धिनीलाई नीजि सचिवालयमा तानेर कानूनको उल्लंघन गरेपछि मन्त्रालयमा उनकै आफन्त र निकटहरुको मनोमानी र हालीमुहाली चल्न थालेको छ ।
सम्धिनीलाई कानून विपरीत मन्त्रालयमा ल्याईएपछि अधिकांश समय काजमा विभिन्न स्थानहरुमा गएको भन्दै भ्रमण भत्ता पनि दिईदै आएको छ । कतिपय पटक दोहोरो भ्रमण भत्ताका लागि पनि कागजपत्र बनाईएको छ । यदपी एकै दिनमा दोहोरो भ्रमण भत्ता बुझ्न लागेको सुचना मन्त्रालयबाट बाहिर आएपछि उनले दोहोरो भ्रमण भत्ता भने बुझ्न पाएकी छैनन् । निजी सचिवालयमा कार्यरत विष्टले एकै मितिमा दोहोरो भ्रमण गरेको कागजात अभिलेख खातामा देखिएको छ ।
लिलावती विष्ट भाटले गत असार १८ गतेदेखि २२ गतेसम्म ५ दिन बैतडी र दार्चुलामा भ्रमण गरेको अभिलेख छ भने असार २० गतेदेखि २३ गतेसम्म चार दिन अछाम जिल्लाको भ्रमण गरेको दोहोरो अभिलेख छ । विष्टले बैतडी र दाचुर्लाको भ्रमण गरेको समय र दिनमा अछामको पनि भ्रमण गरेको अभिलेखमा उल्लेख छ । तर विष्टले आफुले दोहोरो भ्रमण भत्ता नलिएको बताएकीछिन् । उनले आफु जिल्ला भ्रमणमा गईरहेको दावी गर्दै दोहोरो भत्ता नलिएको प्रतिक्रिया दिईन् ।
सामाजिक विकास मन्त्री लालवहादुर खड्काले भने त्रुटीका कारण दोहोरो भ्रमण पत्ताको अभिलेख तयार भएको बताए । उनले सुरुमा विष्टलाई आफुसँगै अछाम लैजाने कुरा भएपनि पछि डाईभरलाई लगेको तर भ्रमण भत्ताको कागजात पहिले नै तयार भएकोले दोहोरो जस्तो देखिन आएको दावी गरे ।