कोरोना महामारीको बहानामा कांग्रेसका क्रियाशील सदस्यको अधिकार कटौति
2021/08/15, 1:16
 
congress

नेपाली कांग्रेसले कोरोना महामारीलाई देखाउँदै पार्टीका क्रियाशील सदस्यहरुको अधिकार कटौति गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिबाट पारित गरेको छ।

विधान संशोधन गर्दै पाउँपालिका/नगरपालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुन पाउने गरी विधान गर्ने प्रस्ताव पारित गरेको हो।

केन्द्रीय कार्यसमितिले शनिबार पारित गरेको प्रस्ताव पार्टीको आउँदो १४औँ महाधिवेशनले स्वीकृत प्रदान गर्नेछ।साविकको व्यवस्थामा पालिकाभित्र रहेका सबै क्रियाशील सदस्यले अधिवेशनमा मतदान गर्ने पाउने भए पनि अब त्यसलाई हटाउने प्रस्ताव गरिएको हो।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको ‘गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण नेपाली कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर, उपमहानगर र महानगरपालिका क्षेत्र भित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य’ भन्ने प्रावधानको ठाउँमा ‘गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने’ उल्लेख छ।

त्यसैगरी गाउँ र नगर, उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधि मात्रै हुन पाउने प्रस्ताव पनि गरिएको छ।

विधानमा कांग्रेसको क्रियाशील सदस्यता लिएको दुई वर्षको सदस्य पालिका सभापतिको उम्मेदवार बन्न पाउने व्यवस्था थियो।