साउन १६ बिहान ७ बजे अस्थायी प्रहरी पोष्ट श्रीपुरले ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लियो । गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित खुटिया खोलाबाट अवैधरूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा ती ट्याक्टरहरू नियन्त्रणमा लिइएको थियो । प्रहरीले प्रतिट्याक्टर छ हजार रकम जरिवाना तिराएर सम्झाई छोडेको थियो ।
त्यस्तै साउन २० मा पनि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको गस्ती टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ जाखौर तालनजिक पाँचवटा ट्याक्टर नियन्त्रणमा लग्यो । खुटिया नदीबाट अवैधरूपमा बालुवा उत्खनन गरी ल्याउँदै गरेका ती ट्याक्टरबाट प्रतिट्याक्टर एक हजार जरिवाना गरी छोडेको थियो ।
सरकारले वर्षातको समयमा खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी जिल्लामा अझै रोकिएको छैन । विशेषतः कैलालीको गोदावरी नगरपालिकाका खोलाहरूमा नदीजन्य पदार्थहरू उत्खनन भइरहेको स्थानीयहरू बताउँछन् ।
गोदावरी नगरपालिकाको खुटिया, गोदावरी र खैराना नदीबाट नदीजन्य पदार्थ उत्खनन भइरहेको नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले बताए । प्रहरी र स्थानीय तहहरूले नदीमा अवैधरूपमा उत्खनन गराइरहेका ट्याक्टरलाई नियन्त्रणमा लिई जरिवाना असुल गर्ने र छाड्ने प्रवृतिका कारण कैलालीका ती खोलामा नदीजन्य पदार्थ उत्खनन जारी रहेको स्थानीय रामप्रसाद चौधरीले बताए ।
आइतबार मात्र गोदावरी नगरपालिकाले १० वटा ट्याक्टरलाई नियन्त्रणमा लिई प्रति ट्याक्टरबाट छ हजारका दरले जरिवाना असुल गरी छाडेको थियो । ‘चुरे क्षेत्रका खोलाबाट ढुंगा बालुवा निकासी भइरहेको छ । खोलामा जथाभावी ढुंगा उत्खनन गरेकै कारण हाम्रो बस्ती जोखिममा रहेको छ’, उनले भने, ‘गोदावरी नगरपालिकाले असारदेखि असोजसम्म खोलाको उत्खनन तथा चोरी निकासी गर्न नपाइने भन्दै जेठमै सूचना जारी गरेको थियो । तर, तिनै समयमा बढी गिट्टी, बालुवा खोलाबाट चोरी निकासी हुने गर्छ ।’
गोदावरी नगरपालिकाले जेठ ३१ गते जारी गरेको सूचनामा भनिएको छ, ‘असार, साउन र भदौ महिनाभरि नगरपालिका क्षेत्रमा रहेका नदी, खोलाहरूबाट नदीजन्य सामग्री उत्खनन तथा संकलन कार्य बन्द रहनेछ । सूचनाको बर्खिलाप भएको पाइएमा दण्ड, जरिवाना गरिनेछ ।’ नगरपालिकाले अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएमा ट्याक्टरबाट छ हजार, टिप्परबाट आठ हजार, एक्स्काभेटर/जेसीबीबाट दश हजार र खोलामा गई थुप्रो बनाउने व्यक्तिबाट एक सय रुपैयाँ जरिवाना तोकेको छ ।
नगरपालिकाले दोस्रो पटक भेटिएमा पहिलो पटकको जरिवानामा ५० प्रतिशत थप गरी जरिवाना लिने र तेस्रो पटक भेटिएमा सय प्रतिशत र चौथो पटक भेटिएमा गाडी जफत गर्ने जनाएको छ । यस्तै, रातिको समयमा नदीजन्य पदार्थ बोकेको गाडि भेटिएमा तोकिएको जरिवानाभन्दा दोब्बर असुल गर्ने उल्लेख छ ।
गोदावरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लहनु चौधरीले खोलामा ट्याक्टर गएर उत्खनन भइरहेको बारे आफूलाई जानकारी नभएको बताए । ‘शेहरी, मरकट्टेतिर बालुवा चोरी निकासी हुने स्थान हो । उत्खनन भइरहेको छैन भन्न अलि गाह्रो हुन्छ तर, मलाई जानकारी छैन ।’ उनले खुटिया नदीमा निगरानी पनि गर्न नसकिएको बताए । उनले घर निर्माणलगायत स–साना कामका लागि स्थानीयहरूले बालुवा उत्खनन गरी चोरी निकासी गर्ने गरेको बताए ।
गोदावरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नरेशबहादुर अधिकारीले वडाभित्र पर्ने क्षेत्रमा उत्खनन हुन नदिन निगरानी बढाएको बताए । उनले भने, ‘यो क्षेत्रमा छैन । साँझ विहान हामीले निगरानी गर्छौँ । त्यसरी उत्खनन भइरहेको भेटाएको छैन ।’
वडा अध्यक्ष अधिकारीले उत्खनन नभएको बताए पनि सो क्षेत्रमा पनि बिहानैदेखि रातिसम्म नदीजन्य पदार्थहरू उत्खनन भइरहेको स्थानीयहरूले गुनासो गर्ने गरेका छन् । सूचना अधिकारी भाटले रातिको समयमा नदीजन्य पदार्थहरू बढी उत्खनन भइरहेको बताए । ‘बिहानदेखि साँझसम्म हामीले टोली खटाउने गरेका छौं । त्यसैले यहाँ रातिको समयमा बढी नदी उत्खनन हुने गरेको छ ।’
उनका अनुसार नगर प्रहरी, अस्थायी प्रहरी पोष्ट, इलाका प्रहरी कार्यालय मालाखेतीलगायतको सहयोगमा अवैध उत्खनन रोक्ने प्रयास भइरहेको छ । नगरपालिकाले सोहीअनुसार दुई महिनामा ७२ सवारी साधनलाई जरिवाना गरि छोडिएको बताए । नगरपालिकामा असोजभन्दा बढी साउनमा अवैध उत्खनन भएको छ ।
नगरपालिकाले असोजमा १४ सवारी साधनलाई जरिवाना गराएको थियो भने साउनमा ५८ सवारीसाधनबाट जरिवाना असुल गरेको छ । नगरपालिकाले दुई महिनामै अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने सवारीसाधनबाट चार लाख २० हजारभन्दा बढी जरिवाना असुल गरेको आ.ले.प. अधिकृत राजेशप्रसाद जोशीले जानकारी दिए ।
बस्ती जोखिममा
कैलालीको खुटिया नदीमा जथाभावी उत्खनन हुन लागेपछि गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाका केही बस्तीहरू बाढीको जोखिममा रहेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नं १५ का तीन चार टोलका करिब एक सय घर नदी कटानको जोखिममा परेका छन् । हरेक वर्ष खुटिया नदीको कटानका कारण नदी छेउछाउनका ती टोल कटानको उच्च जोखिममा रहेका छन् ।
धनगढी उप—महानगरपालिका १५ का तरबरिया, सुर्मि झिनुवा र बसन्त टोलका करिब एक सय घर कटानको उच्च जोखिममा रहेको वडा अध्यक्ष फूलराम चौधरीले बताए ।
ती टोलमा करिब ३०० घर धुरी रहेका छन् । जसमध्य करिब एक सय घरधुरी प्रभावित भएका छन् । भने करिब ५० बिघाभन्दा बढी खेतीयोग्य जमिन कटानको खतरा रहेको छ । हरेक वर्ष खुटिया नदीमा आउने बाढीले खुटिया जमिन कटान तीव्ररूपमा गर्नेगरेको छ । आफू निर्वाचित भएर आएदेखि नै खुटिया नदीमा तटबन्धको माग गरे पनि सरोकारवाला निकायले सुनुवाइ नगर्दा समस्या भोग्नुपरेको अध्यक्ष चौधरीको भनाइ छ ।
ठेक्का नलगाउँदा करोडौँ घाटा
गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गराउँदा ठेक्का लगाउँदा दश करोडभन्दा बढी आम्दानी गर्दै आएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा ठेक्का नलगाई कार्यालय आफैँले उत्खनन गराउन लगाएपछि राजस्व संकलनमा ह्रास आएको छ । आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाले ठेक्का नलगाई कार्यालय आफैँले नदीजन्य पदार्थ उत्खनन गराएपछि साढे तीन करोडको हाराहारीमा राजस्व संकलन गरेको जनाइएको छ । नगरपालिकाले तीनवटै नदीमा आफनो नगर प्रहरी खटाई नदीजन्य पदार्थ उत्खनन गराएको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा नगरपालिकाले तीनवटा नदीको ठेक्का लगाएको थियो । गोदावरी नगरपालिकाले खुटीया नदीमा चार करोड ८० लाख रुपैयाँ, खैराना खोलाको ८५ लाख रुपैयाँ र गोदावरी खोलाका लागि ५५ लाख रुपैयाँ न्यूनतम रकम तोकेर विद्युतीय बोलपत्र आह्वान गरेको थियो ।
नगरपालिकाले २०७६/०७७ मा खुटीया नदीमा आठ करोड रुपैयाँ, खैराना खोलामा एक करोड ५० लाख रुपैयाँ र गोदावरी नदीमा एक करोड ८१ लाख रुपैयाँमा उत्खनन गराउने ठेक्का सम्झौता गरेको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा ११ करोड ३१ लाखमा ठेक्का लगाए पनि तीन करोड ६८ लाख २१ हजार आठ सय सात रुपैयाँ राजस्व क्षतिपूर्ति तथा मिनाहा गरेको छ । नगरपालिकाको पाँचौँ नगरसभाले खुटिया नदीको दुई करोड ६२ लाख १९ हजार तीन सय ५४, खैराना नदीको ४६ लाख ७० हजार तीन सय २२ र गोदावरी नदीको ५९ लाख ३२ हजार एक सय ३१ रुपैयाँ मिनाहा गर्ने निर्णय गरेको थियो ।
कोरोना महामारीका कारण नदीमा चैतदेखि असारसम्म उत्खनन गराउन नपाएपछि उनीहरूको सो राजस्व मिनाहा गरिएको आलेप जोशीले बताए । नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा नदीजन्य पदार्थबाट १० करोड ७० लाख रुपैयाँ संकलन गरेको थियो ।