स्याली नदी कटानले मरघटैया उच्च जोखिममा
2021/08/17, 11:29
 
bb

शुक्लाफाँटा नगरपालिका–१२ मरघटैयामा स्याली नदीले स्थानीय किसानको धान रोपेको जग्गा कटान गरी बगाउन थालेको छ । नदीले जग्गा कटान गर्न थालेपछि १७ परिवार जोखिममा परेका छन् । लगातार भइरहेको वर्षाका कारण नदीमा बहाव बढेपछि जग्गा कटान तीव्र बनाएको हो ।

हालसम्म नदीले आठ परिवारको झण्डै दुई बिघा बढी जग्गा बगाई बगरमा परिणत गरेको छ । “स्थानीयवासी सोमलाल रानाले धान रोपेको पाँच कठ्ठा जग्गा बाढीले बगाएको बताउनुभयो । नदीमा पानीको बहाव बढेसँगै जग्गा कटान लगातार बढ्दोरूपमा रहेको छ”, उहाँले भन्नुभयो, “स्वामित्वको एक बिघा जग्गामध्ये आधा जग्गा नदीले बगाइसक्यो ।”

यस्तै अवस्था रहे नदीले घरबाससमेत बगाएर लैजाने अवस्था छ । वर्षात् हुने एक महिना अझै बाँकी रहेकाले लगातारको नदीले जग्गा कटान गर्दा बस्तीका बासिन्दा सुरक्षित बासस्थानको खोजीमा जुटेका छन् । बस्ती नै नदीको उच्च जोखिममा रहेकाले परिवार जोगाउने चुनौती आइपरेको क्षेत्रबहादुर चौधरीले बताउनुभयो । “जग्गा नदीको बाढीले लगातार कटान गर्न थालेको छ”, उहाँले भन्नुभयो, “अझै वर्षा भए नदी बस्तीसम्म नै आइपुग्ने खतरा बढेर गएको छ । नदीले बेघर बनाउने अवस्थामा पु¥याउन थाल्यो ।”

खेतमा रोपेको धान नदीले जग्गा कटान गरी बगाउन थालेपछि स्थानीय बासिन्दा परिवार पाल्नका लागि अन्नको जोहो कसरी गर्ने भन्ने चिन्तामा परेका छन् । वर्षेनी यस क्षेत्रमा नदीले जग्गा कटान गर्दै आएको छ । वडाध्यक्ष बाले रानाका अनुसार नदीले तीन वर्षको अवधिमै १७ परिवारको झण्डै चार बिघा उब्जाउ जग्गा बगाइसकेको छ ।

नदीले जग्गा कटान गर्दै आएको क्षेत्र जोगाउनका लागि गत आवमा रु १५ लाख खर्चेर प्रदेश सरकारको बजेटमा निर्माण गरिएको तटबन्धसमेत बाढीले भत्काइदिएको छ । तटबन्ध निर्माण सन्तोषजनकरूपमा नगरिँदा तटबन्ध निर्माण गरेको दुई महिना नपुग्दै भत्किएको स्थानीय बासिन्दाले बताएका छन् । भरपर्दो तटबन्ध निर्माण गरी बस्ती जोगाइदिनका लागि स्थानीयवासी सम्बन्धित निकायसँग माग गरेका छन् ।