जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ १० गतेसम्म निषेधाज्ञा थप गरेको छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धारा जारी आदेशमा भदौ १० गतेसम्म निषेधाज्ञा थप भएको उल्लेख छ।
शैक्षिक क्षेत्रबाहेक अन्य क्षेत्र सञ्चालन रहेको अवस्थामा नयाँ आदेशमा मास्कको प्रयोगलाई जोड दिइएको छ। कोरोना संक्रमणको जोखिम बढ्दै कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सर्वसाधारणलाई आजदेखि अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ। प्रशासनले मास्क प्रयोग नगर्नेलाई कारबाही गर्ने निर्णय पनि गरेको छ।
सोमबार जारी आदेशमा जिल्लामा कोरोना संक्रमणको तेस्रो लहरको सम्भावना रहेको तथा मास्क नलागाई हिँडडुल गर्ने प्रवृती बढेको पाइएकोले सार्वजनिक स्थानमा हिडडुल गर्ने सर्वसाधारणलाई अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरिएको छ। मास्क नलगाई हिड्ने व्यक्तिलाई जरिबाना गर्ने प्रावधानलाई आजबाट कडाइका साथ लागू गरिने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ।