८ वर्ष त्रिपालमुनि कटाए,  ४० वर्षपछि आफ्नै घरमा बस्न पाए 
2021/08/17, 5:49
 
dd

८ वर्ष च्यातिएको त्रिपालमुनि कटाएको गोर्भूको परिवार नयाँ घरमा सरेको पाँच दिनमात्र भयो। ९ वर्षको उमेरमा टुहुरो बनेका गोर्भुले ४० वर्ष घरबारविहीन जीवन बिताउनुपर्‍यो। ८ वर्ष त उनले त्रिपालमै कटाए। बाँकी ३२ वर्ष अर्काेको घरमा कमारो भएर बस्नुपर्‍यो।

आफ्नो कमाइले घरजग्गा बनाउन सक्ने उनको क्षमता थिएन। त्यसकारण घर बनाइदिन सरकारसँग पटक-पटक हार गुहार मागेका थिए। उनको हारगुहारपछि वडा कार्यालयले दुई वर्ष समय लगाएर दुई कोठाको जस्ताले छाएको एक तले घर अहिले बनाएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ पिपरियाका गोर्भू सुनाहले झण्डै ४० वर्षपछि आफ्नै घरमा बस्न पाएका छन्।

त्रिपालमा बस्दा उनकी छोरी गोर्भुलाई हाम्रो राम्रो कहिले बन्ने भनेर सोधिरहन्थिन् रे। अब भने छोरीले गोर्भुलाई सोध्ने छैन 'हाम्रो राम्रो घर कहिले बन्छ ? बाबा' भनेर। ‘छोरीले घर कहिले बन्छ हाम्रो बाबा भनेर सोध्न थालेको ८ वर्ष भयो, उनले अब यो प्रश्न गर्दिनन् होला’, उनले मुस्कुराउँदै भने। पाँच दिनअघि गोर्भूको परिवारले त्रिपालभित्रका सरसामान सबै निकाले। ८ वर्षसम्म सहारा बनेको पुरानो च्यातिएको त्रिपाललाई पनि निकालेर नयाँ घरभित्र ल्याए।

बिहे गरेदेखि त्रिपालमा बसेकी श्रीमती गुड्डीलाई आफ्नो घरमा भित्र्याउन पाउँदा गोर्भू भावुक भएको छिमेकी चतुर सुनाहले सुनाए। चतुर सुनाहले जग्गा दिएका कारण उनीहरू त्रिपाल हालेर त्यस ठाउँमा बसेका थिए। अहिले घर बनाउन पनि  चतुरले नै जग्गा दिएका हुन्।  घर नभएर त्रिपालमुनि बस्नुपर्ने बाध्यता हटेकोमा गोर्भुको परिवारलाई खुसी र चिन्ता दुवै छ।

वडा कार्यालयले बनाइदिएको घर। गोर्भूलाई खुसी यसकारण छ कि  हिउँदको चिसो शितलहर र बर्खायामको झरीबाट छुटकारा पाइने भयो। अरूकाजस्तै आफ्नो पनि घर छ भन्न पाइने भयो भनेर। चिन्ता यस कारण छ कि वडा कार्यालयले घर त बनाइदियो तर झ्याल, ढोका हालिएको छैन न नै प्लास्टर गरिएको छ। घरको छाना पनि बलियो छैन। न नै शौचालय छ।

‘छाना लगाएको छ भन्नुमात्रै छ। बलियो रूपले लगाइदिएन। नालाबाट पानी बग्ने ठाउँभन्दा माथि पाइप, कुण्डी, लक लगाउनुपर्ने, त्यो भएन, त्यतिकै किला हालेको छ। हुरी बतास चले त उडाएर लग्छ’, उनले भने। दुई वर्षदेखि वडा कार्यालयले घर बनाउने काम गरे पनि आएर अधुरो घर बनाइदिएकोमा उनलाई खल्लो महसुस भएको छ।
‘झ्याल-ढोका, प्लास्टर गरेको छैन। बरण्डामा टिन लगाएको छैन,’ उनले भने। गोर्भूको परिवार अहिले झ्याल-ढोकामा प्लास्टिकका बोरा झुण्ड्याएका छन्।

गोर्भूको गत वर्षदेखि मजदूरीको काम पनि छुटेको छ। काम पाए पनि एक दुई दिनको लागि मात्रै पाइन्छ। उनकी श्रीमतीको एक हात र  एक खुट्टा चल्दैन। त्यसैमाथि उनी मृगी रोगबाट ग्रसित छिन्।  गोर्भू र उनकी छोरी पनि शारिरीक नभए पनि अरूका जसरी सरासर बोल्न सक्दैनन्। उनीहरू मानसिकरूपमा कमजोर छन्। ‘काम छैन लेभरी जान्थे आजकाल पाइँदैन, झ्याल ढोका बनाउने, प्लास्टर गर्ने पैसा छैन मसँग के गर्ने!, ’ उनले भने। गुड्डीको अपांगता भत्ताले चामल, दाल किनेर खाइरहेको गोर्भूले सुनाए।

‘श्रीमतीको अपांगत भत्ता ४ महिनापछि १२ हजार आउँछ, त्यसैले खाना खर्च चलेको छ। मैले गरेको कामले साबुन, तेलको, औषधी उपचार केही सामान किन्न जोहो हुन्छ,’ उनले भने। दुई वर्षअघि भीमदत्त नगरपालिका-१२ को वडा कार्यालयले उनको घर बनाइदिने भन्दै डेढ लाख बजेट छुट्याएको थियो। घरको पर्खाल लगाउँदा, जग हाल्दा उक्त रकम सकिएपछि अरू काम अघि नबढेको डा अध्यक्ष कृष्ण सिंह देउपाले बताए। ‘घरको पर्खाल लगाउँदा, जग हाल्दा डेढ लाख रूपैयाँ वडा कार्यालयले छुट्याएको रकम सकियो, थप गर्न हामीसँग बजेट नभएकोले छाना लगाउने काम पनि अघि बढेन, यो महिना ५० हजार उधारोमा जस्ता किनेर घरको छानो हालेका छौं,’ उनले भने।

उनले गोर्भूको अवस्था देखेर घरको सबै काम पूरा गरिदिने योजना भए पनि बजेट अभावमा त्यो काम हुन नसकेको  बताए। ‘छाना लगाउने पैसा नगरपालिका अथवा प्रदेश सरकारले दिने भनेर उधारोमा लगाएका हौं, तर दिने-नदिने यकिन छैन, झ्याल ढोका, प्लास्टर गर्ने काम त  बाँकी छ,’ उनले भने। कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ र १३ मा स-साना घरका चार बस्ती छन्।

महाकाली नदी छेउमै पर्ने यी बस्तीका नाम ऐरी, ओदाली, पिपरिया र भुजेला हुन्। यी चार बस्तीमा लोपोन्मुख सोनाह जातिको पनि बसोबास  छ। बस्तीमा लोपोन्मुख सुनाह जातिका ६५ घरधुरी छन्। जसमा सुनाहको ४ सय २०  जति जनसंख्या छ। तिनीहरूमध्ये ३५ घरपरिवारको घरबासको ठेगान छैन। त्यही घरबासको ठेगान नभएकामध्ये पिपरिया बस्तीका गोर्भू सुनाहको अवस्था निकै दयनीय छ। भीमदत्त नगरपालिकाका सुदूरपश्चिम प्रदेशको एउटामात्र सुनाह जातिको बढी बसोबास भएको ठाउँ हो। अरू केही स्थानीय तहमा एक-दुई परिवार यस समुदायका मानिसको बसोबास छ।

लोपोन्मुख सुनाह जातिको मुख्य पेसा ‘सुन छान्ने’ मानिएको भए पनि अहिले त्यो पेसामा कोही छैनन्। पूर्खाहरूले सुन छानेर नै जीविकोपार्जन गरे। नदीमा गिट्टी बालुवाको उत्खनन् हुने कार्य बढ्दै गएपछि सुन खोज्ने, चाल्ने काम बन्द भएको सुनाह समुदायका मानिसहरू बताउँछन्। गाँसबासको समस्या सँगसँगै सुनाह समुदायले आफूहरूको पहिचानको मुद्दा उठाइरहेका छन्। १७ वर्षदेखि सुनाह समुदायका मानिसलाई जातीय सूचीमा राख्नुपर्ने आवाज उठाउँदै आएका छन्।