एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना पक्षका नेता तथा सांसदहरू लिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगे। राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशका आधारमा माधवकुमार नेपालले नयाँ दल खोल्न आयोग पुगेसँगै अहिलेलाई एमाले एकताको च्याप्टर क्लोज भएको छ।
यसअघि २०५४ सालमा नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा एमाले विभाजित भएर नेकपा माले बनेको थियो। २४ वर्षपछि एमालेका पूर्वमहासचिव नेपालकै नेतृत्वमा एमाले विभाजित भएको हो। सुदूरपश्चिमबाट भने माधव नेपाल नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका बेला प्रेम आले मात्रै उनको साथमा देखिएका छन्।
आले यसअघि एमाले अध्यक्ष केपीशर्मा ओली नेतृत्वको सरकारमा समेत सहभागी भएका थिए। तर, पछि भने उनी नेपाल समूहमै फर्किएका थिए। यसअघि नेता नेपालको बलियो सर्मथनमा रहेका भीम रावलले भने नयाँ दल एमाले समाजवादीमा नजाने बताएका छन्।