बिगतमा भीम रावलको पक्षमा रहेका सुदूर पश्चिम प्रदेश सभाका अधिकांश सदस्यहरुले पार्टी बिभाजनसंगै उनको साथ छोडेका छन् । रावलको साथ छोड्नेमा उनको अत्यन्त निकट मानिने दीर्घ सोडारी पनि छन् । सामाजिक विकास मन्त्री हुँदा केपी शर्मा ओलीबाट बर्खास्त गरिएका सोडारी यतिबेला भौतिक पूर्बाधार मन्त्री छन् ।
उनी नेकपा एमाले कैलाली (माधव समूह) का अध्यक्ष समेत हुन् । उनको अध्यक्षतामा बसेको नेकपा एमाले कैलालीको पदाधिकारी बैठकले माधव नेपालको पक्षमा उभिने निर्णय गरेको छ । सोडारी यतिबेला काठमाडौँ छन् । उनी बुधवार अर्याल होटलमा भएको माधव नेपाल पक्षको भेलामा समेत सहभागी थिए । उनले आफू सहित अधिकांश प्रदेश सभा सदस्य नेकपा एमाले समाजवादीमा आबद्ध हुने बताएको स्रोतले बतायो ।
सोडारीले आफूसंग आधा दर्जन सांसद रहेको बताउने गरेका छन् । अमर साउँद र बल बहादुर सोडारी उनी निकट मानिन्छन ।सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी पनि माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादीको पक्षमा छन् । मन्त्री जोशीले आफू अतिवाद र प्रतिगमनको बिपक्षमा भएको बताईन ।पूर्व वन वातावरण, उद्योग तथा पर्यटन मन्त्री माया भट्ट पनि भीम रावलको साथ छोडेकी छन् । भट्टले पनि नेपाललाई साथ दिएकी छन् ।त्यस्तै नेकपा एमाले कञ्चनपुरमा अध्यक्ष रहेका तारा लामा तामाङ, प्रदेश सभा सदस्य कुलवीर चौधरी, सुशिला बुढाथोकी पनि माधव नेपाल पक्षमा छन् ।
आर्थिक मामिला मन्त्री प्रकाश शाह भने नेता रावलको पक्षमा देखिएका छन् ।मन्त्री शाहले पार्टी बिभाजन गर्ने सैद्धान्तिक र बैचारिक आधार नभएको र आफू पार्टी बिभाजनको पक्षमा नरहेको बताए ।उनले पार्टी बिभाजन हुदा लोकतन्त्र नै कमजोर हुने भएकोले आफू पार्टी एकताका पक्षमा रहेको स्पष्ट पारे । नाताले नेता रावलको भिनाजु हर्क बहादुर कुवँर गोविन्द पनि रावलको पक्षमा लागेका देखिदैनन ।सरकारमा राज्यमन्त्री रहेकी अर्चना गहतराजले रावललाई साथ दिएको स्रोतले बतायो । स्रोतले भन्यो, जहाँ रावल जान्छन् । त्यही पार्टी र समूहमा गहतराज रहनेछिन ।कुवँरले आफू प्रतिगमन र अतिवादको विपक्षमा भएको पश्चिम टुडेलाई बताए ।
म बिधि, पद्धति र लोकतन्त्रका पक्षमा थिए । र अहिले पनि छु, हिजो हामीले प्रतिगमन र अतिवादका बिरुद्ध संघर्ष गर्यौ, कुवँरले भने, प्रतिगमन त सच्चियो, अतिवाद सच्चिएको छन ।उनको भनाईको आशय ओलीका बिरुद्ध देखिन्छ । तर रावलका कारण उनी दोधारमा हुन सक्ने स्रोतले बतायो । प्रदेश सभा सदस्य प्रकाश रावल पनि भीम रावल निकट मानिन्छन । तर यतिबेला उनी तटस्थ छन् । चुनकुमारी चौधरीलाई रावलले राज्य मन्त्री बनाएका हुन् ।
यद्दपि मन्त्री पद जोगिने शर्तमा मात्र उनी रावलको पक्षमा जाने देखिन्छन, स्रोतले भन्यो, तर अहिलेको सरकारमा रहेकाहरु रावललाई साथ दिदा भने मन्त्री पद गुमाउने निश्चित छ । नेकपा एमालेका २५ सांसद रहेको सुदूर पश्चिम प्रदेश सभामा भीम रावलका पक्षमा सुदूर १८ जना सदस्य थिए । सात जना भने ओली पक्षमा उभिएका थिए । पार्टी बिभाजन हुदा उनीहरुले एक ढिक्का भएर रावललाई साथ दिने दावी गरिएको थियो । तर रावलकै विश्वास पात्रहरुले उनको साथ छोडेका छन् ।
पार्टी बिभाजनले नेपाल समूह पनि सुदूर पश्चिम प्रदेश सभामा बिभाजन भएको छ ।कतिपय सांसद एकताका पक्षमा भन्दै तटस्थ देखिएका छन् । अव एकताको संभावना नरहेपछि एक दुई दिनमा सबै सांसदहरुले आफ्नो कित्ता स्पष्ट पार्ने बताईएको छ ।