कैलालीमा ‘तपाईंको मास्क खोई’ अभियान सुरू
2021/08/19, 12:51
 
mask khoi

कोरोना संक्रमणको लहर फेरि बढेपछि कैलालीमा ‘तपाईंको मास्क खोई’ अभियान सुरू गरिएको छ। जिल्ला प्रहरी कर्यालय कैलाली र  जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजना बिहीबार सो अभियान सुरू भएको हो। सबैलाई अनिवार्य रूपमा मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले जिल्लामा यो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

यो अभियान अन्तर्गत धनगढी बजार लगायत कैलाली जिल्ला भरि नै लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए । सो अवसरमा आज विहान मात्रै पाँच सय थान मास्क समेत सर्बसाधारणलाई बितरण गरिएको उनले बताए ।

यस्तै, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले कोरोनाको तेस्रो लहरको संक्रमण बढ्दै गएकोले मास्कबिना हिँडडुल नगर्न सर्वसाधारणमा आग्रह गरे।उनले सबै नागरिकलाई अनिवार्य मास्क लगाए, नलगाएको सुरक्षाकर्मीले निगरानी गरिदिन अनुरोध समेत गरे।

कैलालीका प्रमुख जिल्ला खगेन्द्र रिजालले मास्क लगाउन अटेर गर्ने, मास्कबिनै भिडभाडमा जाने प्रवृत्ति बढेकाले सचेतनामूलक अभियान सञ्चालन गर्नुपरेको बताए। उनले अभियानमा मास्क नभएकालाई नि:शुल्क वितरण गर्ने तथा बिनामास्क हिँडडुल गर्नेलाई भने जरिवाना तिराउने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।