निलम्बित सांसद रेशमलाल चौधरी आफ्नो गृह जिल्ला कैलालीमा एक्लिँदै गएको पाइएको छ । तटस्थ बसेका उनी अन्ततः आफू महन्थ ठाकुर पक्षले दर्ता गर्न लागेको नयाँ पार्टी जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) मा रहेको मन्जुरीनामा पत्र निर्वाचन आयोगलाई दिएका छन् ।
तर उनको गृह जिल्लाका अधिकांश नेता तथा कार्यकर्ताहरु उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा रहेको पाइएको छ । जुन कारण उनी पार्टीभित्र एक्लिँदै गएका हुन् ।
सांसद चौधरीको पदचाप पछ्याउँदै आएका सुदूरपश्चिम प्रदेशका सांसदहरु समेत यादव नेतृत्वको जनता समाजवादी पार्टीतिर..लागेपछि उनी पार्टीभित्र कमजोर देखिएका हुन् ।
यसअघि रेशमलाल चौधरीको तटस्थ रहने कदमलाई समर्थन गर्ने बताउँदै आएका सुदूरपश्चिम प्रदेश सभामा जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरी र प्रमुख सचेतक मालामति राना संस्थापन पक्षलाई रोजेका छन् ।
संसदीय दलका नेता चौधरी भन्छन्, ‘पहिला उहाँ तटस्थ बस्नुभएको थियो । उहाँको स्वतन्त्रको कुरा हो । उहाँ नयाँ पार्टीलाई समर्थन जनाउनुभएको छ । अहिलेसम्मको सिनारियो अनुसार उहाँ नयाँतिर देखिनुभएको छ । तर अध्यादेशले दिएको समयावधि २१ दिन हो । २१ दिनपछि को कहाँ छ ? त्यसपछि मात्रै थाहा होला ।’
त्यस्तै प्रमुख सचेतक रानाले रेशम र आफूहरुको बाटो फरक–फरक देखिएको बताइन् । आफू पहिलेदेखि संस्थापन पक्ष तथा चुनाव चिन्हप्रति अडिग रहेको बताउँदै उनले फरक–फरक बाटो लाग्दैमा मुद्धा फरक हुने होइन । अझै पनि समय छ ।’
२ सांसद मात्रै होइनन् जनता समाजवादीका अधिकांश केन्द्रीय सदस्य संस्थापन पक्षतिर लागेको बताइएको छ । जसपा केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक कृष्णकुमार चौधरीले सुदूरपश्चिममा रहेका करिब ३० जना केन्द्रीय सदस्य मध्ये अधिकांश सदस्य आफूतिर रहेको र केही अझै खुल्न बाँकी रहेको बताए ।