सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता
2021/08/21, 3:47
 
dd

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रदेश सरकारको नेतृत्व फेरबदलका विषयमा चर्चा चुलिएका बेला नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउने लगायतका विषयमा भेटवार्तामा छलफल भएको छ ।

‘केन्द्रमा रहेको सत्तारुढ गठबन्धन र सोही अनुसार गठबन्धनमा रहेका पार्टीको प्रदेश सरकारमा सहभागिताबारे छलफल भएको छ । प्रचण्डले वर्तमान प्रदेश सरकार तत्कालै परिवर्तन हुने सम्भावना कम रहेको बताउनुभएको छ । सुरुमा संघीय मन्त्रिमण्डल विस्तार हुने र त्यसपछि प्रदेश सरकारको नेतृत्व माओवादीले नै गर्ने वा अन्य पार्टीले गर्नेबारे निर्णय हुने बताउनुभएको छ ।’ भेटवार्तामा सहभागी एक नेताले भने । 

काठमाडौंमा भएको भेटवार्तामा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादु्र सोडारीको पनि उपस्थिती थियो । यता प्रदेशमा भने सरकार परिवर्तन हुने चर्चा चुलिएको छ। माओवादीले नेतृत्व गर्दै आएको प्रदेश सरकार अब काँग्रेस वा माधव समूहको नयाँ पार्टीले नेतृत्व गर्ने चर्चा छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा अहिले ५२ सदस्य छन् । तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले माओवादी परित्याग गरेपछि पार्टीको सिफारिसमा पदमुक्त भएपछि प्रदेश सभामा ५२ जना सांसद छन ।

उनीहरूमध्ये तत्कालीन नेकपा एमालेका २५, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना प्रदेशसभा सदस्य छन्। वितमा एमालेभित्र माधव समूहमा १७ जना र ओली समूहमा ७ जना सांसद खुलेका थिए ।