गाउँको ३ तिरैबाट घना जंगल र एकातिरबाट दोदा नदीको ढिकैमा अवस्थित छ इँटाहा क्षेत्र अर्थात् प्राचीन इँटा भएको स्थान । कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–४ र शुक्लाफाँटा नगरपालिका–१२ को सीमा क्षेत्रमा पर्दछ सो इँटाहा क्षेत्र । जुन स्थानीय आदिवासी रानाथारु जातिको आस्थाको धरोहर पनि हो । यतिमा सीमित छैन इँटाहाको परिचय । ऐतिहासिक तथा पुरातात्विक र धार्मिक, सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण छ तर राज्यको ध्यान नजाँदा यो क्षेत्र ओझेलमा परेको छ ।
इँटाहा क्षेत्रमा अझैसम्म प्राचीन इँटा, कुवा र सिक्काहरू पाइने गरेको स्थानीय बताउँछन् । जहाँका इँटाको मोटाइ डेढ इञ्च र एक फिट लम्बाइ रहेको छ । इँटासहित मासको गारोमा कुवा र हवन कुण्ड निर्माण गरिएका छन् । ती इँटा र कुवा किरातकालीन समयका इँटासँग मिल्दाजुल्दा छन् ।
ऐतिहासिक पक्ष
]स्थानीयलाई उदृत गर्दै रानाथारु संस्कृतिका अध्येता नन्दलाल राना भन्छन्, ‘आजभन्दा ५ हजार बर्ष पहिले यस ठाउँमा पाल नामका व्यक्तिहरू बसेको तथ्य भेटिएको छ । यहाँ भेटिने इँटा, मूर्ती, कुवा लगायतका आधारमा यहाँ इँटापाल, अजयपाल, सिहपाल नाम गरेका व्यक्तिहरूले आ–आफ्नो क्षेत्र बनाएर राजकाज गरेका थिए । त्यहीँ इँटापाल नाम गरेका व्यक्ति र यहाँ भेटिने ऐतिहासिक इँटाकै कारणले इँटाहा नामाकरण गरिएको भन्न सकिन्छ ।’
कुवा र हवन कुण्ड कहिले निर्माण भएका हुन् भन्नेबारे यकिन रूपमा पुष्टि हुन सकेको छैन । ३ वटा कुवा र १ हवन कुण्डलाई विक्रम संवत् २०४८ सालमा उत्खनन् समेत गरिएको बताइन्छ तर गहन रूपमा उत्खनन तथा अनुसन्धान गरे यस क्षेत्रमा थप पुरातात्विक वस्तुहरू फेला पार्न सकिने स्थानीय बताउँछन् ।
अध्येता राना भन्छन्, ‘विक्रम संवत् २०४८ सालमा स्थानीयले पुरिएको कुवा उत्खनन् गरेका थिए । पछि पुरातत्व विभागले यहाँका इँटाहरू परीक्षणको लागि लगेको थियो । पुरातत्व विभागका अनुसार त्यहाँ भेटिएका इँटाहरू ५ हजार वर्ष पुरानो हुनसक्ने अनुमान गरिएको छ तर थप अनुसन्धान हुन बाँकी नै छ ।’
जहाँ डाँकाहरू बाटो बिराए
इँटाहा क्षेत्र आजभोलि इँटाहा बाबा मन्दिरको नामले परिचित छ । सो क्षेत्रबारे विभिन्न मिथक तथा किंवदन्तीहरू पनि पाइन्छन् । इँटाहा बाबा मन्दिरका पुजारी कन्हैया रानाका अनुसार त्यसताका २ वटा कुवाको माटो निकालिए पनि अर्को कुवाको माटो आधा मात्रै झिकिएको थियो । कुवाबाट मूर्ति र सिक्का निस्कन थालेपछि प्रहरीले कुवा खन्न रोकेको थियो ।पाइएका मूर्ति र सिक्का प्रहरीले आफूसँगै लगे पनि अहिलेसम्म फिर्ता नगरेको स्थानीय वासिन्दा बताउँछन् ।
यति मात्रै होइन, त्यहाँ भेटिएका मूर्तिहरू केहीले आफ्नो घर लगेको बताइन्छ । घर लगेपछि घर परिवारमा अनिष्ट समेत भएको लालझाडी गाउँपालिका अध्यक्ष मदनसिंह बडायक बताउँछन् ।
गाउँपालिका अध्यक्ष बडायकका अनुसार राणाकालीन समयमा भारतीय डाँकाहरूले सो क्षेत्रमा लुट मच्चाएका थिए । डाँकुहरूको त्रास धेरै थियो । लुटिनबाट जोगिन स्थानीय आदिवासी रानाथारुले सोही इँटाहामा गएर भाकल गर्थे । सोही भाकलकै कारण त्यसताका डाँकाहरू मानव बस्ती रहेको इँटाहा क्षेत्रमा लुटपाटका लागि पुगे पनि बाटो बिराएका थिए । जुनकारण लुटपाट गर्न नसकी ती डाँकाहरू फर्केकाले त्यसै दिनदेखि गाउँको नाम देखतभूलि रहन गरेको गाउँपालिका अध्यक्ष बडायक बताउँछन् । वर्षौंदेखि सो मन्दिरमा रानाथारु जातिका पुजारी रहँदै आएका छन् । चोखो मनले पूजा गरे मनोकांक्षा पूरा हुने स्थानीयको विश्वास छ ।
पर्यटनको सम्भावना
धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको इँटाहा क्षेत्र प्राकृतिक दृष्टिकोणले पनि रमणीय क्षेत्र हो । जुनकारण इँटाहा क्षेत्र गतिलो पर्यटन गन्तव्यका बन्न सक्ने सम्भावना रहेको छ । तर संरक्षण सम्बद्र्धनमा राज्यका निकायको ध्यान नपुग्दा ओझेलमा परेको छ । करीब १० विघा बढी क्षेत्रफलमा फैलिएको सो क्षेत्रको विकास नहुनुमा स्वामित्व विवाद पनि हो ।
केही समय अगाडिसम्म इँटाहा धार्मिक क्षेत्र शुक्लाफाँटा नगरपालिकामा पर्ने वा लालझाडी गाउँपालिकामा पर्ने भन्ने विषयमा विवाद थियो तर हाल सो क्षेत्रको स्वामित्व लालझाडी गाउँपालिकाले लिएको छ । इँटाहा बाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामप्रवेश रानाले राज्यको लगानी नहुँदा विकास हुन नसकेको बताए । अझै ध्यान नदिए अस्तित्व नै संकटमा पर्ने समितिका अध्यक्ष रानाको भनाइ छ ।
कटानको उच्च जोखिम
दोदा नदीको ढिकैमा मन्दिर रहेकाले नदी कटानको उच्च जोखिम समेत रहेको छ । त्यसको लागि तत्काल तटबन्धको आवश्यकता रहेको समितिले जनाएको छ । गाउँपालिका अध्यक्ष बडायकले सो क्षेत्रको विकासको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को तयारीमा रहेको बताए ।
पूर्वपश्चिम राजमार्गमा पर्ने कञ्चनपुरको वाणी बजारदेखि करीब १० किलोमिटर दक्षिणमा इँटाहा क्षेत्र पर्छ । इँटाहा क्षेत्र जोड्न दोदा नदीमा पुल निर्माण कार्य जारी छ तर पुल निर्माणमा निकै ढिलासुस्ती हुँदा कामले गति लिन सकेको छैन । पुल निर्माण भएपछि विकास हुने सम्भावना रहेको छ ।