प्रचण्डसँगको भेटवार्तापछि तत्कालका लागि थामियो सुदूरपश्चिमका मुख्यमन्त्रीको पद
2021/08/22, 3:04
 
aa

नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ’प्रचण्ड’सँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भेटवार्ता गरेका छन् । काठमाडौं आएर शनिबार मुख्यमन्त्री भट्टले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । 

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तनको चर्चाका बीच मुख्यमन्त्री भट्ट र भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रचण्डलाई भेटेका हुन्। भेटमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भएको बताइएको छ।

भेटमा तत्काल सरकार परिवर्तन नगर्ने बरु केन्द्रीय गठबन्धनअनुसार अन्य पार्टीलाई पनि सरकारमा सहभागी गराएर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ । प्रचण्डले तत्कालका लागि सरकारमा कुनै फेरबदल नहुने, संघीय मन्त्रिमण्डल विस्तारपछि सरकारबारे निर्णय गर्ने आश्वासन दिएको बुझिएको छ । 

कुल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य छन्। ५२ मध्ये तत्कालीन नेकपा एमालेका २५, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुईजना छन्।