गाउँमाथिबाट खसेको पहिरोले गत वर्ष जिल्लाको मालिकार्जुन गाउँपालिका-२ भगवती ज्युनडा क्षेत्रका कम्मानसिह धामीको घर पहिरोले बगायो। घर पहिरोले बगाएपछि उनको मात्र हैन सात आठ परिवार एक वर्षदेखि विस्थापित छन्। उनीहरु अहिले अर्काको गाईगोरु बाध्ने घरमा बसेका छन। गत वर्षको भाद्र ३ गते उनीहरुको पहिरोले घर बगाएको थियो।केहीको घर भत्किएको छ भने केहीको घर पहिरोको उच्च जोखिममा छन्।विस्थापित भएर बसेकै ठाउँ पनि बगाउने हो कि भन्ने चिन्ताले अहिले पनि रातभर निद्रा नलाग्ने उनीहरूको गुनासो छ।
अहिले उनीहरु एउटा बाँझो खर्कमा बस्ने गरेका छन्।‘ठूलो कालबाट बाँचियो तर आँखा वरिपरि त्यही पहिरो आउँदा रातभर निदाउन सकिँदैन,’ पहिरो पीडित सागरसिह धामीले भने।विस्थापित भएदेखि उनीहरूले न पेटभरि खान पाएका छन् न राम्ररी सुत्न नै। ‘बुवा बाजेले कमाएको पैसाले बनाएको घर एकैछिनमा पुरियो,’ धामीले भने,‘अब न अन्न उब्जाउने जग्गा छ न घर नै।’ एक महिनाअघि भारतबाट फर्कंदा कमाएर ल्याएको ५० हजार रुपैयाँ पनि सकिएको पहिरो पीडित सागर धामीको गुनासो रहेको छ। अहिले पनि रात दिन पानी पर्छ कुन दिन पहिरो आउने हो भन्ने पिरले सताएको हुन्छ स्थानीय नरेन्द्र सिह धामीले भने।
‘पहिरोले जताततै चिरैचिरा परेको छ,’ उनले भने, ‘ पहिरोको जोखिममा रहेको घरबाट केही निकाल्न नपाएपछि एकसरो कपडाको भरमा विस्थापित जीवन काटिरहेको उनले दुखेसो पोख्नु पोखे। इता प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने संघ र प्रदेशबाट बजेट आइसकेकोले केही दिनपछि गत वर्षको बाढिपहिरो पीडितलाई राहत वितरण गर्ने तयारी भएको जानकारी दिए।सम्भवतः दुई चार दिन भित्र गत वर्षका बाढिपहिरो पीडितलाई राहत वितरण गर्ने तयारी छ।
दार्चुलाका बाढीपहिरो पीडितले निजी आवास निर्माणका लागि ५ लाख अनुदान पाउने छन्।सरकारले विपदमा परेर घरबार गुमाएकाहरुको निजी आवास निर्माण गर्न अनुदान दिने भएपछि पीडितले आवास निर्माणका लागि ५ लाख पाउने हुन्। यो रकम तीन किस्तामा सम्बन्धित पीडितले पाउने छन्। दार्चुलाको हकमा पीडितले पहिलो किस्ता ५० हजार, दोस्रो २ लाख ५० हजार र तेस्रो २ लाख पाउनेछन्।यो आवास निर्माणको कार्य प्रगति हेरेर प्रदान गरिने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला जिल्ला अधिकारी जोशीले बताए। घर पूर्ण क्षति भएकाले अस्थायी रुपमा बस्नका लागि बास बनाउन अस्थायी आवास अनुदान ५० हजार पाउने छन्।पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार पाउने कार्यविधिमा उल्लेख छ।
आंशिक क्षति भएकालाई घर प्रबलीकरण तथा मर्मत गर्न ५० हजार दिइनेछ। त्यस्तै घडेरीसमेत नभएकालाई घडेरी किन्नका लागि ३ लाख अनुदान दिने भएको छ। गत वर्षको जेठ ३० देखि गत वर्षको असोज ३० सम्म बाढी र पहिरोबाट क्षति भएकाहरुको निजी आवास निर्माणका लागि सरकारले यस्तो अनुदान दिन लागेको हो।अनुदान रकम स्थानीय, प्रदेश र संघीय सरकारले समुहिक रुपमा व्यहोर्ने छन्। यो रकम पाउने दार्चुलामा १५ घरपरिवार छनौट भएका छन्।