भारतीय सीमा सुरक्षाबल (एसएसबीले) तुइन फुकाइदिँदा दार्चुला व्याँस– २ मालगाउँका जयसिंह धामी महाकालीमा बेपत्ता भएको २५ दिन भयो । घटनाको सत्यतथ्य पत्ता लगाउन भन्दै सरकारले छानबिन समिति गठन गरेकै २३ दिन भयो । तर, अझै प्रतिवेदन तयार गर्न सकेको छैन । पाँच सदस्यीय समितिका दुई सदस्य नै बिदामा बस्दा प्रतिवेदन थप अनिश्चित बनेको छ ।
समितिमा सदस्य रहेका सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट पारिवारिक कारण देखाउँदै आकस्मिक रूपमा बिदामा छन् । सबै सदस्यको सहमति विना प्रतिवेदन लेख्न नमिल्ने भएकाले अन्योलमा परेको समितिका एक सदस्यले बताए । ‘छानबिन लगभग सकिएको छ, तर प्रतिवेदन लेखनमा दुई सदस्य नभएकाले तयार गरेर बुझाउन समस्या भएको हो,’ ती सदस्यले भने । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वको समितिमा श्रेष्ठ र भट्ट सहित नेपाल प्रहरीका डिआइजी पुरुषोत्तम कँडेल र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा सदस्य छन् ।
१५ साउनमा जयसिंह काठमाडौं आउन मालघाटको तुइन चढेर भारततर्फ जाँदै गर्दा एसएसबीले तुइन फुकाइ दिँदा महाकालीमा बेपत्ता भएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । छानबिनका लागि १७ साउनमा सरकारले समिति गठन गरेको थियो । तोकिएको १० दिनभित्र प्रतिवेदन बुझाउन नसकेपछि २६ साउनमा अर्को एक साताका लागि म्याद थप भएको थियो । उक्त समयमा पनि प्रतिवेदन तयार गर्न नसकेपछि फेरि थपिएको एक साताको म्याद मंगलबार सकिँदै छ ।
छानबिन समितिका संयोजक गौतम भने केही दिनमै प्रतिवेदन बुझाइने बताउँछन् । मंगलबार काम नसकिए एक–दुई दिन थप समय मागिने उनको भनाइ छ । बेपत्ता जयसिंहको अवस्था पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । ड्रोन क्यामेरा प्रयोग गरेर खोजी गर्नका लागि भारतले अनुमति नदिँदा नेपालपट्टि मात्रै ड्रोन उडाइएको थियो । सरकारले छानबिन प्रतिवेदनका आधारमा घटनाका विषयमा भारतसँग कुरा गर्ने बताउँदै आएको छ ।