सडक निर्माण ढिलाइले डुवानको जोखिम बढ्यो
2021/08/24, 2:47
 
dd

सोमबार रातिको अविरल वर्षाका कारण कैलालीका टीकापुरमा रहेको नमूना इन्टरप्राइजेज डुवानमा पर्‍यो । सो कम्पनी मात्रै नभइ करिब एक दर्जन पसल डुवानमा पर्दा लाखौंका सामानमा क्षति पुग्यो ।

गत वर्षका डुवानमा व्यापारीको क्षति भएको स्मरण गर्दै ब्यापारी सरोज चपाईंले ढल निकासको समस्याका कारण डुवान भएको आरोप लगाए । ‘स्थानीय सरकार मौन छ । निर्माण कम्पनीले कछुवा गतिमा काम गरिरहेको छ । व्यापारी बर्सेनि डुवानको समस्यामा छन्,’ उनले भने, ‘ढल निकासको उचित व्यवस्थापन नभएकै कारण हामीले समस्या भोग्नुपरेको छ ।’

बजारको मुख्य भागमा निर्माण सुरुआत भएको सडकको काम समयमै सम्पन्न नहुँदा बजार क्षेत्र डुवानमापर्ने खतरा बढेको छ । एक दिनको वर्षाले मात्रै टीकापुरका दर्जनौं पसल डुवानमा परेका छन् । अहिले निर्माण हुन लागेको सडक घरको सतहभन्दा अग्लो भएका कारणले पनि सामान्य वर्षामा पानी पसलमा पस्ने गरेको स्थानीय व्यापारी सुरेन्द्र चौधरी बताउँछन् ।

‘नाली निर्माण भएका छन् । तिनको निकास छैन् । अहिले तिनै नालीमा पानी भरिएर पसल जलमग्न भएका छन् ।’ उनले भने, ‘पूर्व तयारी कसैले गर्दैनन् । जब समस्या आउँछ त्यसपछि मात्रै एक अर्कालाई दोष दिएर समस्याको समाधान हुँदैन ।’

बजारको मुख्य भाग ब्लक नं ‘ए’ मा स्मार्ट सिटी अन्तर्गत सडकको काम सुरु भएको दुई वर्ष भइसकेको छ । सडक निर्माणको जिम्मा पाएको महालक्ष्मी एमके जेभीले पहिलो चरणको सम्झौताको म्याद सकिए पनि अझै आधा काम सम्पन्न गर्न सकेको छैन् ।

जेभीका निर्देशक चक्रबहादुर शाहीले काम गर्दै जाँदा आयोजनाको डिजाइन परिवर्तन गर्नुपरेकोले काममा ढिलाइ भएको बताए । उनले आयोजनाको डिजाइन सच्याउन समय लागेको र कोरोनाका कारण पनि काम प्रभावित भएका कारण समयमै सम्पन्न गर्न नसकिएको बताए ।

बजारको मुख्य बजारसँगै जोडिएको जमरा पुलदेखि बसपार्कसम्मको सडकको पनि पहिलो चरणको सम्झौता गत फागुनमै सम्पन्न भइसकेको छ । विद्युत् पोलको समस्या देखाउँदै आएको निर्माण कम्पनीले ढल निकासका लागि निर्माण गरेको नालाको निकास खोलेको छैन । नालाको निकास नभएका कारण डुवानको जोखिम बढेको स्थानीय व्यापारी हेमन्त रावल बताए ।

सडक निर्माणको जिम्मा पाएको रेखा निर्माण सेवाले अहिले सडककोबीच भागमा गिट्टी थुपारेका कारण सवारी आवागमनमा पनि निकै समस्या हुने गरेको छ । निर्माण सेवाका इन्जिनीयर गगन शाहीले विद्युत् पोलको व्यवस्थापन हुन नसक्दा काम गर्न निकै कठिनाइ हुँदै आएको जनाउँदै बिचको भाग भए पनि कालोपत्र गर्ने भनेर सडकमा गिट्टी थुपार्ने काम भएको बताए ।

‘हामीले पनि समयमै काम सम्पन्न गर्छौ भनेर काम सुरु गरेका थियौं । तर बिचमा आएका समस्याले काम समयमै सम्पन्न गर्न सकिएन ।’ उनले भने, ‘हामी त काम गर्न तयारै छौँ तर काम गर्ने वातावरण बनिरहेको छैन ।’