निसर्ग अस्पतालद्वारा बडीमालिकामा औषधि र स्वास्थ्य सामग्री वितरण
2021/08/24, 6:13
 
aa

धनगढीको निसर्ग अस्पतालले धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा औषधि वितरण गरेको छ। आइतबार सम्पन्न भएको रक्षा बन्धनको अवसरमा लाग्ने भेला भर्न गएका दर्शनार्थीहरुलाई अस्पतालले आवश्यक औषधि तथा स्वास्थ्य सामग्री प्रदान गरेको हो।

समुन्द्री सतहदेखि ४२ सय मिटरको उचाईमा रहेको बडीमालिका माताको दर्शन तथा भ्रमणका लागि गएकाहरुलाई उचाईका कारणले हुने स्वास्थ्य समस्या, ज्वरो, रुघाखोकी, दुखाई, पखाला, पेट दुख्ने र ग्यास्ट्रीक लगायतका औषधि वितरण गरेको निसर्ग अस्पतालले जनाएको छ।

साथै मास्क, सेनिटाइजर, ब्याण्डेज, ह्यान्डप्लास्ट, चोटपटकको औषधि र दुखाईको स्प्रे÷मलम लगायतका स्वास्थ्य सामग्री पनि सहयोग गरेको अस्पतालका सञ्चालक कुबेरबहादुर शाहीले बताए। बाजुराको सदरमुकाम मार्तडी बजारबाट प्रस्थान हुने स्थान, यात्राका क्रममा बीचमा पर्ने सोता भन्ने स्थान, त्रीवेणी धाम र बाटोमा यात्रा गर्ने क्रममा आवश्यक परेका करिब ४० जनालाई औषधि र करिब ६ सय जनालाई मास्क वितरण गरेको उनले बताए। 

आफू पनि बडीमालिका यात्रामा जान लागेको र त्यहाँ विभिन्न स्वास्थ्य समस्या पर्नसक्ने भएकोले अन्यहरुलाई पनि केही अप्ठयारो नपरोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तरगत औषधि तथा मास्कसहित गएको सञ्चालक शाहीले बताए। 

त्रीवेणी धाममा पुगेर निसर्ग अस्पतालले कालिकोटको रास्कोट अस्पतालका डा. भोजराज बमसहितको प्राविधिक टिमलाई बाँकी रहेको ४ पेटी औषधि र २ हजार थान मास्क हस्तान्तरण गरेको थियो। रास्कोट अस्पतालको टिमले त्रीवेणी धाम र बडीमालिका मन्दिर परिसरमा करिब ३ सय जनाको चेकजाँच र औषधि वितरण गरेको डा. भोजराज बमले बताए।

उक्त यात्रामा बाजुरा जिल्ला अस्पतालको चिकित्सक र प्राविधिक टिम पनि औषधिसहित  पुगेको थियो।