भिड बढेपछि कञ्चनपुरको ‘भाइरल रोड’ जान प्रतिबन्ध
2021/08/25, 8:27
 
corona

पछिल्लो समय कञ्चनपुरमा महाकाली नदीको छेउमै निर्माण भइरहेको सडकमा भिड बढेपछि सर्वसाधारणका लागि त्यहाँ प्रतिबन्ध लगाइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै टिकटक, भिडियो र फोटो खिच्न आउने भिडका कारण ‘भाइरल रोड’ भनेर चर्चित भएको उक्त सडकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्रतिबन्ध लगाएको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सम्पन्न भएको बैठकले आगामी आइतबारदेखि उक्त सडकमा प्रतिबन्ध लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए ।   सडकमा लाग्ने आन्तरिक तथा बाह्य पर्यटकको भिडका कारण कोरोनाको जोखिम बढिरहेका कारण यस्तो निर्णय गरिएको उनले बताए । ‘सडकमा सर्वसाधारण आएर भिड लाग्न थाल्यो । निषेधाज्ञा लागू नै भएको अवस्थामा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आमसर्वसाधारणलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेका छौँ,’ उनले भने । 

यस्तै, कोरोना संक्रमणको जोखिमबाहेक मदिरा तथा लागुऔषध सेवन गरी दिनहुँ झै–झगडा हुने अवस्था सिर्जना भएको, भिडका कारण निर्माणाधीन पुल तथा सडकको काम प्रभावित बनेको र छेउमै रहेको महाकालीमा पुरुष बेपत्ता भएको घटनाका कारण अर्को आदेश नआएसम्म सडकमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । 

सोमबार मात्रै भाइरल रोडको छेउमै रहेको महाकाली नदीमा भीमदत्त नगरपालिका–१२ ओदानीका ४५ वर्षीय कृष्णदत्त जोशी बेपत्ता भएका थिए । उनले सोमबार महाकालीमा हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  उनको खोजी कार्य भइरहेको कञ्चनपुर प्रहरीका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानले बताए । पछिल्लो समय दैनिक सयौँ पर्यटक उक्त स्थानमा पुग्ने गरेका थिए ।