आधार इलाका सुदूरपश्चिम प्रदेश गुमाउँदै एमाले नेता भीम रावल
2021/08/25, 8:52
 
corona

एमाले उपाध्यक्ष भीम रावलले आफ्नो आधार इलाका गुमाउने भएका छन् । यसअघि सुदूरपश्चिम प्रदेशमा रावलको वर्चस्व थियो । उनी एमाले ओली पक्षमा लागेसँगै प्रदेशमा उनकै विश्वास पात्र मानिएकाले पनि साथ छाड्ने भएका छन् ।
 
एमाले पार्टीमा विवाद भएपछि अध्यक्ष केपी शर्मा ओलीको खरो विरोध गर्ने भीम रावल एमालेमा रहँदै ओली पक्षमा खुलेपछि उनले सुदूरपश्चिममा आफ्ना विश्वासपात्र गुमाउने देखिएको हो । एमालेभित्र देखिएको विवादले गर्दा सात महिनासम्म रावलको दबदबा रह्यो, प्रदेशमा । यतिसम्म कि एमालेभित्र विवाद भएदेखि रावलको अनुमति विना प्रदेश सरकारमा कुनै पनि निर्णय हुन सकेन । रावलको अनुमतिमा नै गत जेठ १५ मा प्रदेशमा मन्त्रि परिषद् हेरफेर गरिएको थियो ।

बुधबार एमालेबाट छुट्टिएका माधव नेपाल पक्षधरले आफ्नो छुट्टै पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि सुदूरपश्चिममा को–कसको खेमा तर्फ भन्ने बहस सुरु भएको छ ।  सुदूरपश्चिममा तत्कालीन समयमा पार्टी र प्रदेशसभामा नेपाल समूहको वर्चस्व रहेको थियो । रावल पनि नेपाल समूहमै थिए । जसले गर्दा यहाँ रावलको हावी थियो । तर, अहिले नेता नेपालले नयाँ पार्टी दर्ता गरेका छन्  ।  एमालेमा देखिएको यो पछिल्लो घटनाक्रमले सुदूरपश्चिममा रावलले आफ्नो आधार इलाका गुमाउने देखिएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेमा सभामुखसहित २५ जना सांसद छन् । त्यसमध्ये यसअघि माधव नेपाल समूहमा १७ जना खुलेका थिए भने ओली पक्षमा सातजना मात्रै थिए । पार्टी फुटेपछि अब यो संख्यामा केही फेरबदल हुनेछ ।  समाचार स्रोतका अनुसार यसअघि नेपाल पक्षमा रहेका दुई जना रावल अर्थात ओली पक्षमा जाँदै छन् । उनीहरु ओलीभन्दा पनि रावललाई नेता मान्ने भएकै कारण सो समूहमा जान लागेका हुन् ।  

एमाले प्रदेशसभा संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र हर्कबहादुर कुँवर खुल्ने प्रबल सम्भावना छ ।यसो हुँदा ओली पक्षमा रहेका सात जनामा थप दुई जना खुलेपछि यो संख्या ९ पुग्नेछ । रावलका विश्वास पात्र रहेका भौतिक पूर्वाधारमन्त्री समेत रहेका दीर्घ सोडारीले भने नेपाललाई साथ दिँदै छन् । उनी यसअघि रावलका नजिकका विश्वास पात्र मानिएका थिए ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी,  पूर्व उद्योग  पर्यटन वन तथा वातावरणमन्त्री माया भट्ट एकीकृत समाजवादीको केन्द्रीय कमिटीमै छन् । मन्त्री जोशीले भने प्रदेश सभामा यसअघि नेपाल समूहमा रहेका सबै नयाँ पार्टीमा आउने दाबी गरेकी थिइन् ।  
प्रदेश सांसद तारा लामा तामाङले पनि यसअघि नेपाल समूहमा रहेका सबै एकै ठाउँमा रहेको बताइसकेका छन् । यद्यपि, उनले एकै ठाउँ भने पनि कहाँ खुल्ने भनेर स्पष्ट पारेनन् । पूर्वमन्त्री समेत रहेका सांसदले पनि नेता नेपाललाई छाड्न नसकिने संकेत गरेका छन् । 

यद्यपि, प्रदेशमा अहिले नै को कसको पक्षमा भन्न सकिने अवस्था पनि नरहेको नेताहरुले बताउने गरेका छन् । भोलिसम्म सबैको आ–आफ्नो कित्ता क्लियर हुने एक नेताले बताएका छन् ।