कर्णाली गाउँ पस्ने खतरा बढ्यो, भत्किँदै शाहीपुरको तटबन्ध
2021/08/25, 9:12
 
bb

​​​​​​लगातारको वर्षाका कारण कर्णाली नदीले तटबन्ध भत्काएपछि कर्णाली गाउँ पस्ने खतरा बढेको छ। टीकापुर नगरपालिका- ५ शाहीपुरमा निर्माण गरिएको तटबन्ध बुधबार मात्रै कर्णाली नदीले पाँच मिटरबढी तटबन्ध कटान गरेपछि कर्णाली गाउँ पस्ने खतरा बढेको हो। 

स्थानीय चन्द्रबहादुर रोक्कामगरले दिएको जानकारी अनुसार नदीमा पानीको सतह बढ्दै गएको छ। पानीको सतह बढ्दै जाँदा तटबन्ध फुटेर गाउँ पस्ने खतरा बढेको रोक्कामगरले बताए।‘एक महिना अघिदेखि नै कटान गरिरहेको ठाउँमा ठूलो ढुंगा खसालेर नियन्त्रणको प्रयास भइरहेपनि कर्णाली नदीमा पानीको सतह बढ्दै गएको हुनाले तटबन्ध भत्किरहेको छ’ उनले भने ‘पानीको सतह बढ्दै जाँदा नदी गाउँ पस्ने खतरा बढेको छ।’ 

कर्णाली नदीले सो ठाउँमा कटान गरे टीकापुर नगरपालिका वडा नं. ५ का शाहीपुर, सिम्रेनी वडा नं. ७ को सत्ती, वडा नं. ८ को सूर्यपुर, विष्णु कान्तिपुर, वनगाउँ लगायतका गाउँमा असर पर्नेछ।  अहिलेसमेत वर्षा भइरहेका कारणले नदी गाउँ पस्ने खतरा बढेसँगै शाहीपुर क्षेत्रका बालबालिकालाई टीकापुर पठाइएको रोक्कामगरले बताए। ‘हामी बाढी प्रभावित क्षेत्रका बालबालिकालाई टीकापुरमा रहेका शिविरमा पठाएका छौं’ उनले भने ‘नदीको कटान नियन्त्रणका लागि हामी बोरामा बालुवा भरेर नियन्त्रणको प्रयास गरिरहेका छौं।’ 

टीकापुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दीर्घबहादुर ठकुल्लाले नदीमा पानीको सतह बढेको र शाहीपुरमा रहेको तटबन्ध भत्किरहेको बताए। ‘कटान नियन्त्रणको प्रयास भए पनि पानीको सतह बढ्दा नदी गाउँ पस्ते खतरा बढेको छ’ नगरपालिकाका प्रवक्ता समेत रहेका ठकुल्लाले भने ‘बाढीको खतरा बढेसँगै गाउँमा सबैलाई सचेत रहन हामीले सूचना दिइरहेका छौं।’

सत्ती प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक चंखबहादुर कठायतले नदी गाउँ पस्ने खतरा बढेपछि प्रभावित गाउँहरुमा माइकिंग गरेर सचेत रहन आग्रह गरिएको बताए। नदीमा पानीको सतह बढ्दै जाँदा कटानसमेत बढ्दै गइरहेको छ। कर्णाली नदीको शाहीपुर वन क्षेत्रमा नदीले गतवर्ष निर्माण गरिएको १ सय ५० मिटर बढी तटबन्ध भत्काएपछि नेपाली सेना, प्रहरी र स्थानीयले रोकथामका लागि जैविक तटबन्ध निर्माण गरेका थिए। 

दैनिक रुपमा कटान हुन थालेपछि टीकापुर नगरपालिका वडा नं. ५, ६, ७ र ८ का स्थानीयहरु त्रसित बनेका छन्। नदीले सो क्षेत्रमा कटान गर्दा शाहीपुर हुँदै नारायणपुर र सत्ती क्षेत्रमा नदी पस्ने खतरा छ।  कर्णाली नदीको चिसापानीबाट दक्षिणी क्षेत्रमा नदीको बीचमा थुप्रै टापुहरु रहेका छन्। वर्षेनी ती टापुहरुमा बालुवा थुप्रिने गर्दा नदीले धार परिवर्तन गरेर निर्माण गरेको तटबन्ध समेत भत्काउँदै आएको छ। 

राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया सिचाईं आयोजना सुरु भएसँगै कर्णाली नदीले कटान गर्दै आएको कमाण्ड क्षेत्रभित्रका जमिन सुरक्षाका लागि तटबन्ध गर्दै आएको भए पनि वर्षेनी कटानको समस्या भने कम हुन सकेको छैन।