कोरोनाका गम्भीर संक्रमित बढ्दै
2021/08/26, 10:09
 
dd

कञ्चनपुर जिल्लामा कोरोना संक्रमणका गम्भीर बिरामी बढ्न थालेका छन् । संक्रमण उकालो लागेसँगै गम्भीर बिरामी थपिने क्रम पनि बढेको हो ।

महाकाली प्रादेशिक अस्पतालमा ४ संक्रमितको उपचार भइरहेको छ । उनीहरू सबैलाई एचडीयूमा भर्ना गरिएको अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले बताए । आईसीयू कक्ष भने अन्य बिरामीका लागि प्रयोग भइरहेको छ । ‘दुई सातामा आईसीयू चाहिने तीन जनालाई धनगढी रेफर गरेका छौं,’ डा. रोकायाले भने, ‘बिरामीको भर्ना दर हेर्दा गम्भीर बिरामी बढ्न थालेको देखिन्छ ।’

उनका अनुसार असार मध्यतिर गम्भीर खालका बिरामी आउने क्रम रोकिएको थियो । साउन लागेसँगै संक्रमण बढ्दो छ । कोरोनाको जस्तै लक्षण भएका बिरामीको चाप पनि अस्पतालमा बढेको छ । कोरोना संक्रमणको दोस्रो लहरका क्रममा अधिकांश संक्रमित अन्तिम अवस्थामा मात्रै अस्पताल आउदा मृत्यु दर बढी भएको भन्दै अस्पतालले विज्ञप्ति नै निकालेको थियो । सुरुमा निजी मेडिकलहरूमा चेकजाँच गर्ने र रोगले च्यापेपछि मात्रै अस्पताल आउँदा दोस्रो लहरका बेला महाकाली अस्पतालमा मात्रै १ सय जनाको मृत्यु भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सोमबार कञ्चनपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये भीमदत्त नगरपालिकाका ७, दोधारा चाँदनीमा ३, शुक्लाफाँटा र पुनर्वास नगरपालिकामा १/१ जनामा संक्रमण देखिएको छ ।