लगातारको वर्षाका कारण कैलालीको दक्षिणी क्षेत्र डुबानमा परेको छ । दक्षिणी क्षेत्रको भजनी नगरपालिकाका केही स्थान डुबानमा परेका हुन् । वर्षाका कारण लम्की चुहा नगरपालिका ६ गुलरामा खोलाले बगाउँदा एक वृद्धाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार करिव ९० वर्षकी फूखिया थरुनीको खोलाले बगाउँदा मृत्यु भएको हो ।
उनलाई स्थानीय चरेला खोलाले बगाएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए । उनका अनुसार खोलामा नुहाउने क्रममा फूखिया बगेर बेपत्ता भएकी थिइन् । उनको शव झण्डै सात सय मिटर तल भेटिएको छ ।
त्यस्तै कैलालीकै जानकी गाउँपालिकामा बाढीले करिब डेढ सय घर डुबाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिएको जानकारी अनुसार वडा नं. ४ र ७ को बस्तीमा बाढी पसेको हो ।
जोशीका अनुसार वडा नं. ४ मा गिदरपुर, खरैला गाउँका ८० र वडा नं. ७ मा जवलपुर, शंकरपुर, मुनुवा गाउँका ५८ घर डुबानमा परेका छन । गाउँपालिकाका अन्य वडामा समेत थप केही घर डुबानमा परेका छन् ।
बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको टोली उद्दारका लागि पुगेको छ । उद्दारमा खटिएका गाउँपालिका अध्यक्ष प्रदिप चौधरीले स्थानीयका धेरै घर डुबानमा परे पनि सबैलाई सुरक्षित स्थानमा सारिएको बताए ।
'हामी सबैतिर पुग्यौं । धेरै घरहरु डुबानमा परेका छन्, सबैजना सुरक्षित हुनुहुन्छ,' चौधरीले भने, ‘कतिपय घरमा खाद्यान्नलगायत बगाएको छ, यकिन विवरण भने अझै आउन सकेको छैन ।’ कर्णाली नदी अन्र्तगतको कुलरीया कुला (नदी) मा आएको बाढी गाउँ पसेको हो ।
यहाँ वर्षेनी कुलरीया कुलाले बाढीको समस्या निम्त्याउने गरेको छ । उता, भजनी नगरपालिका वडा नं. ३, वडा नं. ८ का गाउँमा बाढी बसेको छ । स्थानीय खेमराज पाण्डेले दिएको जानकारी अनुसार कान्द्रा, पथरैया, काँढा नदीमा पानीको सतह बढ्दै जान थालेपछि स्थानीयहरु हुलाकी सडकमा आएका छन् ।
यता, कर्णाली नदीले टीकापुर नगरपालिका वडा नं. ५ शाहीपुरमा निरन्तर कटान जारी राखेको छ । नदीमा पानीको बहाव बढेसँगै किनार छेउको भूभाग तीब्र कटान भइरहेको छ । रानी जमरा कुलरीया सिँचाइ आयोजना र स्थानीयले नदी कटान नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । नदीमा पानीको बहाव उच्च भएसँगै कटान नियन्त्रणको प्रयास विफल हुँदै गएको स्थानीय केशर रावलले बताए ।
आयोजनाले ठूल्ठूला ढुंगा र स्थानीयले बोरामा बालुवा भरेर नदी कटान नियन्त्रणको प्रयास गरिरहेका छन् । नदीको बहावले ढुंगा र बालुवा भरेका बोरा बगाउन थालेपछि स्थानीय त्रसित छन् । सो क्षेत्रमा नदीले कटान गरे टीकापुर नगरपालिका वडा नं. ५, ६, ७ र ८ का अधिकांश गाउँमा कर्णाली पस्नेछ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले नदी कटान तीब्र भएसँगै ती वडाका बासिन्दालाई सजग रहन अनुरोध गरेको छ । टीकापुर नगरपालिका वडा नं. ७ ले सूचना जारी गर्दै सतर्क रहन आग्रह गरेको छ ।