अछाममा ११ जना सुत्केरीको उद्धार
2021/08/29, 5:55
 
aa

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तरगत अछामका ११ जना महिलाको निःशुल्क हवाई उद्धार गरिएको छ। दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि अनुसार उनीहरूको उद्धार गरिएको हो।

आर्थिक वर्ष २०७५/०७६ देखि जिल्लामा सुरु भएको यस कार्यक्रम अन्तर्गत यही भदौ ६ गते एकैदिन २ जना गर्भवतीको हवाई उद्धार गरिएसँगै हालसम्म ११ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीहरूको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। 

प्रशासनका अनुसार २०७६ भदौ २९ गते कमलबजार नगरपालिका वडा नम्बर १ का इन्द्रा किकको हवाई उद्धार गरिएको छ। यस्तै २०७६ चैत्र २३ गते कमलबजार नगरपालिका वडा नम्बर ५ का बेलादेवी भण्डारी, २०७७ वैशाख २७ गते रामारोशन गाउँपालिका वडा नम्बर ६ का देउमा साउदको हवाई उद्धार गरिएको प्रशासनले जनाएको छ।

यस्तै २०७७ ज्येष्ठ ३ गते तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ का तुलसी वड, २०७७ असार १० गते तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ का मनीषा उखेडाको पनि हवाई उद्धार गरिएको हो। जिल्ला प्रशासन कार्यालय अछामका अनुसार २०७७ असार २९ गते पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ की रमिता विक, २०७७ भदौ ३ गते रामारोशन गाउँपालिका वडा नम्बर ७ का सुरा भण्डारीको पनि हवाई उद्धार गरिएको हो। 

यस्तै २०७७ असोज ३० गते पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ का कोपिला विक र २०७७ चैत्र ११ गते तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ का चन्द्रा शाहीको हवाई उद्धार गरिएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए। 

यस्तै २०७८ भदौ ६ गते आइबतार एकै दिन दुई गर्भवती महिलाको उद्धार गरिएको छ। साँफेबगर नगरपालिकाका २४ वर्षीया महिला र चौरपाटी गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीया गर्भवतीको हवाई उद्धार गरिएको प्रशासनले जनाएको छ। 

निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम लागू भएपछि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी र नवजात शिशुले अकालमै ज्यान गुमाउनु नपरेको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताए।