दार्चुलामा अविरल बर्षापछि आएको बाढी र पहिरोले समस्यामा परेका नागरिकहरुको उद्धारमा सहयोग गर्न सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले स्थानीय प्रशासनलाई निर्देशन दिएकी छिन् । गएराति जिल्लाका विभिन्न स्थानमा बर्षाका कारण बाढी र पहिरोले धनजनको क्षती भएपछि मन्त्री जोशीले उद्धार, खोज, राहत र पुनःस्थापना लगायतका काममा स्थानीय सुरक्षा निकाय, प्रशासन र स्थानीय सरकारलाई सहयोग गर्न निर्देशन दिएकी हुन् ।
‘अविरल बर्षाको कारण दार्चुला जिल्लामा भएको मानवीय र भौतिक क्षतिले अत्यन्तै दुखित तुल्याएको छ ।’ उनले भनिन्–‘उद्दार, खोज, राहत, पुनःस्थापना लगायतका काममा स्थानीय सुरक्षा निकाय, प्रशासन, स्थानीय सरकारलाई सहयोग गरी वास्तविक पीडितलाई सहयोग गरिदिन अपील गर्दछु ।’ उनले प्रदेश सरकार सदैव आवश्यक सहयोग गर्न तयार रहेको समेत बताईन् ।
जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोले क्षती पु¥याएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जानकारी दिए ,। महाकाली नगरपालिकाको श्रीबगर भन्ने स्थान लगायतका ठाउँमा क्षती पुगेको र उद्धार लगायतका कामहरु भईरहेको उनले बताए । बाढी पहिरोले दुई जना वेपत्ता र एक जनाको मृत्यु भएको छ ।