नेकपा एमालेका उपाध्यक्ष भीम रावल सुदूरपश्चिमको राजधानी धनगढी पुगेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तिर खुलेका दुई सांसद हराएका छन्। माधव नेपाललाई छाडेर एमालेमा फर्किएपछि रावल पहिलोपटक सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी उत्रिएका छन्। उनी उत्रिएलगत्तै माधव नेपालतिर खुलेका तीन सांसद हराएका थिए।
धनगढीमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले एमालेका प्रदेश सांसद आफ्नो पक्षमा सनाखत गराउन लाग्दा रावल धनगढी उत्रिएका थिए। रावल धनगढी उत्रिएलगत्तै समाजवादीमा खुलेका दुई प्रदेश सांसद सम्पर्कविहीन भए। सुरुमा तीन जना सम्पर्कविहीन भएका थिए। जसमा सम्पर्कमा आएका कुलवीर चौधरी निर्वाचन कार्यालय पुगेर समाजवादीमा सनाखत गरिसकेका छन्।
प्रदेश सांसदहरु तारा लामा तामाङ र अर्चना गहतराज अझै सम्पर्कविहीन छन्। उनीहरु निर्वाचन कार्यालय जाँदै गर्दा आधा बाटोबाटै हराएका हुन्। उनीहरु हराउनु र भीम रावल धनगढी ओर्लिनु एकै समय थियो। समाजवादीका नेताहरुले रावलसँगको सम्पर्कपछि उनीहरु हराएको आशंका गरेका छन्। समाजवादीमा १३ जनाले सनाखत गर्ने तयारी थियो। तर १० जनाले मात्रै सनाखत गरे।
समाजवादीकी केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले भोलि १४ सांसद पुग्ने बताएकी छन्। उनले दुईजना सांसदको कागजात नपुगेको दाबी गरिन्। दल विभाजनसम्बन्धी अध्यादेशअनुसार एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २२ भदौसम्म दल रोज्ने अधिकार निर्वाचन आयोगले दिएको छ।