घटना भएको एक महिनापछि दार्चुलाका जयसिंह धामीको घटनामा अनुसन्धान सकेर समितिले छानविन प्रतिवेदन बुझाएको छ।
समितिले बुझाएको प्रतिवेदनमा जयसिंह धामीको वेपत्तामा भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नता रहेको देखिएको छ। समितिले एसएसबी माथि छानविन गरि दोषी उपर कानुनी कारबाही गर्ने सुझाव समेत दिएको छ।
दुई जवानले तुइन फुकालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन्। यद्यपि, भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरे पनि तुइन नकाटेको दाबी गरेको छ। समितिले कूटनीतिक पहल गरेर तुइन काटिएको विषयमा एसएबीसँग कुनै सोधपुछ समेत गरेन।
समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो। जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएका थिए। अहिलेसम्म जयसिंहको न त लास भेटियो न त सास नै।
सरकारले साउन १७ गते जयसिंहको घटनाबारे अनुसन्धान गर्न पाँच सदस्य छानबिन समिति गठन गर्यो।
गृह मन्त्रालयका सह सचिव जनार्दन गौतमको नेतृत्वमा पाँच सदस्य छानविन टोली गठन गरेको थियो। प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य रहेका छन्।
साउन २५ गते समितिको सात दिन म्याद थपिएको थियो। त्यस समयमा पनि समितिले काम गर्न सकेन। त्यसपछि भदौ १ गते फेरि अर्को सात दिनको म्याद थपियो। यस पटक पनि समितिले प्रतिवेदन बुझाएन। भदौ ८ गते फेरि म्याद थपेर भदौ १५ (आज)सम्म पुर्याइएको थियो।