कैलालीमा नेकपा एस र लोसपामा सनाखत गर्न स्थानीय तहलाई पत्राचार
2021/09/02, 10:11
 
aa

प्रादेशिक निर्वाचन कार्यालय कैलालीले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको छ ।

कैलालीको १३ वटै स्थानीय तहलाई पत्र पठाउँदै निर्वाचन कार्यालयले सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको हो।

निर्वाचन आयोगले भदौ २२ गते गते सम्म नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पाटी रोज्न पाउने व्यवस्था लागू गरेको छ । सोही अनुसार जिल्लामा स्थानीय तहमा पत्राचार गरिएको प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी दिए ।

अहिलेसम्म कैलालीमा १३ जनाको मात्रै सनाखत भएको छ । बुधबारसम्म १० जना प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन्  भने ३ जना स्थानीय तहका जन प्रतिनिधिले पनि नेकपा  (एकीकृत समाजवादी) सनाखत गरेका छन् ।

बुधबारसम्म लोकतान्त्रिक समाजवादी पार्टीमा कसैले पनि सनाखत गरेका छैनन् ।

सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ। 

आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखत गराउनुपर्ने पनि जनाएको छ।

प्रदेशसभा सदस्यले सनाखत गर्न जाँदा सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा प्रदेशसभा सचिवालयबाट जारी भएको परिचयपत्र वा प्रमाणितपत्र बोकेर जानुपर्ने बताइएको छ।

त्यसैगरी, स्थानीय तहको सदस्यका लागि सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा सम्बन्धित स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणित पत्र अनिवार्य गरिएको छ।