दार्चुला तुइन घटनाः भारतसँग कूटनीतिक पहल गर्न गृहले परराष्ट्रलाई पत्र पठायो
2021/09/02, 3:59
 
aa

महाकाली नदी पार गर्नेक्रममा भारतीय सशस्त्र सीमा बल एसएसबीका जवानले तुइनको लठ्ठा खुस्काइदिएपछि नेपाली युवा जयसिंह धामी बेपत्ता भएको पुष्टिपछि कूटनीतिक पहलका लागि गृह मन्त्रालयले पत्र पठाएको छ। जघन्य अपराध सम्बन्धी घटनाको अनुसन्धान र पीडित परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग कूटनीतिक पहलका लागि गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको जनाईएको छ।

सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठिन छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले बिहीबार परराष्ट्रलाई पत्र पठाउँदै दोषीलाई कारबाहीको दायरामा ल्याउन र बेपत्ता रहेका धामीका परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग पहल गर्न भनेको हो।

स्रोतका अनुसार गृहले बुधबार दिनभर पत्रको व्यहोरा र कूटनीतिक पहलका लागि गरिने विषयबारे आन्तरिक समीक्षा, परामर्श र सम्बन्धित अधिकारीसँग छलफल गरेको थियो। त्यसपछि परराष्ट्रलाई पत्र पठाइएको स्रोतको भनाई छ।२०७८ साउन १५ गते भारतको पाङला गाउँ नजिकै गस्कु इलाकामा खटिएका एसएसबीका जवानले महाकालीमा टाँगिएको तुइनको लठ्ठा खुस्काउँदा दार्चुला ब्यास गाउँपालिका–२, खाङदाङ मालका ३३ वर्षीय धामी उर्लदों भेलमा खसेर हराएका थिए। अहिलेसम्म धामीको अवस्था अज्ञात छ। घटनापछि जिल्ला प्रहरी कार्यालय दार्चुलाले खोजबिन जारी राखेपनि भारतीय प्रशासन र सुरक्षानिकायबाट अनुसन्धानमा सहयोग भएको छैन।

घटनाको तेस्रो दिन साउन १७ मा गृहमन्त्री बालकृष्ण खाँणले यससम्बन्धी सत्यतथ्य पत्ता लगाउन सहसचिव गौतमको संयोजकत्वमा समिति गठन गरेका थिए। समितिले मंगलबार मन्त्री खाँणलाई प्रतिवेदन बुझाउँदै घटना गस्कुमा रहेका एसएसबीका जवानले तुइनको लठ्ठा खुस्काएका कारण भएको भन्दै अपराधमा संलग्नलाई भारतबाटै अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन र धामीका परिवारलाई उचित राहत तथा क्षतिपूर्ती दिलाउन कूटनीतिक पहलअघि बढाउन सुझाव दिएको थियो।

सोही सुझावका आधारमा गृहसचिव टेकनारायण पाण्डेले सचिवस्तरीय निर्णय गरी प्रतिवेदनसहित परराष्ट्रलाई पत्र पठाएका हुन् । घटनाको महिनादिन बितिसक्दा पनि यसबारे परराष्ट्रले कुनै प्रतिक्रिया जनाएको छैन । भारतीय प्रशासन र सुरक्षा निकायले पनि एसएसबीको संलग्नता अस्वीकार गर्दै घटना ढाकछोपमा लागेका थिए । तर, नेपालबाट भएको छानबिनमा एसएसबीको संलग्नता पुष्टि भइसकेको छ ।