राष्ट्रिय जनमोर्चाले समानान्तर कमिटि गठन गर्ने बिभिन्न तहका नेतालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । धनगढीमाआयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सुदूर पश्चिममा समानान्तर समिति गठन गर्दै त्यसको नेतृत्व गर्ने केन्द्रीय सदस्य लाल बहादुर जाग्री, केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्साल, केन्द्रीय पार्षद लक्षीराम आचार्य, गोविन्द बिक, र केशवनाथ योगीलाई सम्पूर्ण पद र जिम्मेवारीबाट मुक्त गरिएको बताए ।
उनले केन्द्रीय समितिको बिहीवार बसेको बैठकले समानान्तर समिति गठन गर्नेहरुलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्दै अनिश्चितकालका लागि पार्टीको साधारण सदस्यबाट कारबाही गर्ने निर्णय गरिएको जानकारी दिए । राष्ट्रिय जनमोर्चाका महासचिव भट्टले भारतीय पक्षको उक्साहटमा एमाले अध्यक्ष केपी शर्मा ओलीको गणतन्त्र, धर्म निरपेक्षतालाई समाप्त पार्न खोजेको र पटक पटक संसद बिघटन गरेकोले जनमोर्चा त्यसका बिरुद्ध पाँच दलीय गठबन्धनमा सहभागी भएको बताए ।
केपी ओलीको नेतृत्वमा संसद बिघटन गरी मुलुकलाई अस्थिर बनाउने र राजतन्त्रलाई फर्काउने प्रयत्न भएकोले राष्ट्रिय जनमोर्चा त्यसको विपक्षमा गठन भएको पाँच दलीय गठबन्धनमा सहभागी भएको नेता भट्टको भनाई थियो । पाँच दलीय गठबन्धन दलमा सहभागी नहुनुको सोझो अर्थ भारतीय ईशारामा चलिरहेका केपी ओलीलाई समर्थन गर्नुहुन्छ, उनले भने, हामी त्यही कारण केपी ओलीको विपक्ष र पाँच दलीय गठबन्धनको पक्षमा उभिएका हौ । यही कुरा सह्य नभएर पार्टी भित्रका फुटपरस्त नेताहरुले समानान्तर गठन गर्ने हर्कत गरे । त्यसैले त्यस्ता व्यक्तिहरुलाई हामीले सबै जिम्मेवारीबाट मुक्त गरेका हौ ।
उनले नेपाली काँग्रेससंग थुप्रै मुद्दामा असहमती भएपनि गणतन्त्र, धर्मनिरपेक्षता, देशमा शान्ति र स्थिरता कायम गर्न सहकार्य गरिएको स्पष्ट पारे । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष नन्दराज भट्टले पार्टी बिभाजन गर्ने, समानान्तर कमिटि गठन गर्दै फुटपरस्त गतिबिधि गर्नेहरुको भ्रममा नपर्न आग्रह गरे ।