नेकपा (एमाले)बाट निर्वाचित बेलौरी नगरपालिकाका दुई वडा अध्यक्षसहित नौजना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। वडा नम्बर ९ का अध्यक्ष शम्शेर सिह पेला र वडा नम्बर ८ का अध्यक्ष नन्दकुमार रानाले एकीकृत समाजवादी रोजेका हुन्। उनीहरुले बिहीबार जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरमा सनाखत गरेका छन्।
स्थानीय तह निर्वाचनमा बेलौरीमा चार वडामा एमालेले अध्यक्ष जितेको थियो। वडा नम्बर २ र ४ का वडा अध्यक्ष एमालेमै छन्।वडा अध्यक्षसँगै कार्यपालिका सदस्यहरु विनोद नेपाली, तुलसी श्रेष्ठ र धनबहादुर सार्कीले पनि एमाले छाडेका छन्। वडा नम्बर ३ का वडा सदस्य रामप्यारी विक, ९ का सदस्यहरु सुनादेवी दमाई र ८ का वडा सदस्य राजमान चौधरीले पनि एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। वडा नम्बर ३ मा विक मात्रै एमालेबाट निर्वाचित भएकी वडा सदस्य हुन्।
बेलौरी नगरपालिकाको कार्यपालिकामा नेकपा एमालेका ११ सदस्य थिए। पाँच जनाले नयाँ दल रोजेपछि एमाले ६ सदस्यमा समेटिएको छ। जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका नायब सुब्बा भानबहादुर महराले बेलौरी नगरपालिकाका नौजना जनप्रतिनिधिले निर्वाचन कार्यालयमा आएर एकीकृत समाजवादीका लागि सनाखत गरेको बताए।