सुदूरपश्चिमबाट नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभाव राख्दै आएका अधिकांश नेताहरुको क्रियाशील सदस्यता भएका वडाहरुको नेतृत्व निर्विरोध नेतृत्व चयन भएको छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिने एनपी साउद, रमेश लेखक र बीरबहादुर बलायरको क्रियाशील सदस्यता भएका वडाहरुमा निर्विरोध वडा कार्यसमिति चयन गरिएको हो।
साउदको क्रियाशील सदस्यता रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका-२ र लेखकको क्रियाशील सदस्यता रहेको कञ्चनपुरकै वेदकोट नगरपालिका-८ मा निर्विरोध वडा कार्यसमिति चयन गरिएको जिल्ला सभापति हरिप्रसाद बोहराले जानकारी दिए। उनका अनुसार भीमदत्त नगरपालिका२ मा उत्तम भट्ट र वेदकोट-८ मा रामसिंह मार्कण्ड्यको नेतृत्वमा वडा कार्यसमिति चयन गरिएको हो।
कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका नेता तारादेवी भट्टको क्रियाशील सदस्यता रहेको भीमदत्त नगरपालिका-१८ मा पनि वडा कार्यसमिति निर्विरोध चयन भएको छ। भट्टको वडामा राजेन्द्र केसीको नेतृत्वमा वडा कार्यसमिति चयन गरिएको सभापति बोहराले बताए। बोहराको क्रियाशील सदस्यता रहेको वेदकोट-७ मा पनि दलबहादुर विष्टको नेतृत्वमा वडा कार्यसमिति निर्विरोध चयन भएको छ।
यस्तै कांग्रेस केन्द्रीय सदस्य बलायरको क्रियाशील सदस्यता रहेको डोटीको शिखर नगरपालिका-८ मा पनि निर्विरोध वडा कार्यसमिति चयन भएको छ। उक्त वडामा लालबहादुर महराको नेतृत्वमा वडा कार्यसमिति गठन भएको छ। सभापति देउवाको गृहप्रदेश सुदूरपश्चिमका कैलाली, डडेल्धुरा, बाजुरा, बैतडी र दार्चुलामा भने वडा अधिवेशन सुरु नभएको बताइएको छ। कैलाली, डडेल्धुरा र बाजुराको क्रियाशील सदस्यताको नामावली प्रकाशित भएको छैन।
नामावली प्रकाशित भएका जिल्लाहरु बैतडीमा भदौ २१ गते र दार्चुलामा २२ गते वडा अधिवेशन सुरु हुने बताइएको छ।वडा अधिवेशन नभएका जिल्ला मध्ये कैलालीबाट इश्वरी न्यौपाने र दार्चुलाबाट दिलेन्द्रप्रसाद बडूको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व छ।