कैलालीमा शुक्रबार राति विङ्गर र अटो रिक्सा एकआपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिकाको राजीपुरमा दुर्घटना भएको हो । विङ्गरको ठक्करबाट गम्भीर घाइते भएका अटो रिक्सामा सवार तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइते चार जना उपचाररत छन् ।
पछिल्लो समयमा भएको यो ठूलो दुर्घटना हो र यसमा ठूलो मानवीय क्षति भएको छ । प्रहरीका अनुसार चालकको असावधानीले दुर्घटना भएको हो । मानवीय र प्राविधिक त्रुटिका कारण हुने यस्ता दुर्घटनाका कारण सुदूरपश्चिममा वर्षेनी कयौँले ज्यान गुमाउने गरेका छन् । अंगभंग तथा भौतिक क्षतिको गणना गर्ने हो भने दुर्घटनाका कारण हुने अवस्था भयावह छ ।
प्रहरीको तथ्यांक हेर्दा सुदूरपश्चिममा पाँच वर्षको अवधिमा एक हजार ४२९ सवारी दुर्घटना भएका छन् । पाँच वर्षको अवधिमा आठ सय ५१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् भने दुर्घटनामा परेर एक हजार ९६० जना गम्भीर घाइते भए । तीमध्ये कति अंगभंग भएर अपाङ्गताको जीवन बिताइरहेका छन् ।
कतिले जीवनभर उपचार गराइ राख्नुपर्ने अवस्था छ । आर्थिक वर्ष २०७५÷७६ मा सबैभन्दा बढी दुई २३ जनाले ज्यान गुमाएको तथ्यांक छ । गत आर्थिक वर्षमा मात्र पाँच सय ६२ वटा सवारी दुर्घटना हुँदा सात सय ८४ सवारी साधनहरु प्रभावित भएका छन् । ती दुर्घटनामा एक सय ८७ जनाको ज्यान गुमाउनु परेको छ ।अधिकांश दुर्घटनाहरु मानवीय त्रुटिका कारण हुने गरेको प्रहरी अनुसन्धानले देखाउँदा ।
धेरैजसो दुर्घटनाहरु चालकको लापरबाहीबाट हुने गरेका छन् । चालकको लापरवाही, तीव्र गतिमा सवारी हाँक्नु, यात्रुको गल्ती, यान्त्रिक समस्या तथा मादक पदार्थ सेवन गरी सवारी चलाउनु दुर्घटनाका मुख्य कारणहरु हुन् ।
यसरी हेर्दा मानवीय लापरबाहीनै दुर्घटनाको प्रमुख कारण रहेको देखिन्छ । मानवीय र यान्त्रिक त्रुटिहरु हुन नदिनका लागि ट्राफिक प्रहरीको सक्रियता अझ बढाइनु पर्छ । ट्राफिक नियमको कडाइका साथ पालना गर्न जरुरी छ । सवारी साधनको यान्त्रिक चेकजाँच भएको छ छैन भन्नेतर्फ पनि ट्राफिक प्रहरीको ध्यान जान जरुरी छ ।
सार्वजनिक यातायातका साधनमा क्षमताभन्दा बढी यात्रु र सामान राख्ने, दु्रत गतिमा चलाउने, मदिरा सेवन गरेर चलाउनेजस्ता कार्य रोक्नका लागि यात्रु पनि सचेत बन्न जरुरी छ । दुर्घटनाबाट हरेक वर्ष ठूलो मानवीय र भौतिक क्षति भइरहेकाले दुर्घटना न्यूनिकरण गर्न सरोकारवाला सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्न आवश्यक छ ।