सुदूरपश्चिममा नेकपा (एस) पहिलो बन्दा फाइदा त्रिलोचन सरकारलाई
2021/09/07, 1:48
 
dd

सुदूरपश्चिममा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पहिलो दल बनेको छ । यससँगै त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकार अझ बलियो बन्दै गएको छ ।  प्रदेश सरकारमै सहभागी नेकपा (एस) पहिलो दल बनेपछि प्रदेश सरकार सुरक्षित देखिएको हो । 

नेकपा एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीमा सुदूरपश्चिममा हालसम्म १४ जना प्रदेश सभा सदस्यहरूले सनाखत गरेका छन्, जसबाट सबभन्दा ठूलो दल रहेको नेकपा एमालेलाई ठूलो धक्का लागेको छ । अब नेकपा एमाले प्रदेश सभामा चौथो दलमा खुम्चिएको छ । 

नेकपा एमालेका सभामुखबाहेक २४ मध्ये १४ जनाले एकीकृत समाजवादी रोजेपछि नेकपा एमाले ११ जना प्रदेश सभा सदस्यमा सीमित भएको हो ।  अब ५२ सदस्यीय प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, कांग्रेसका १२, एमालेका १० र जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका १–१ जना प्रदेश सभा सदस्य छन् ।

यसअघि जनता समाजवादी पार्टीमा रहेको भनिएका संसदीय दलका नेता कृष्णबहादुर चौधरीले पनि भदौ २१ गते महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रोजेका छन् । योसँगै २ जना मात्रै प्रदेश सभा सदस्य रहेको जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरू दुईतिर लागेका हुन् । 

बलियो बन्यो त्रिलोचन सरकार

अन्य प्रदेश सरकारका नेतृत्वहरू परिवर्तन हुँदै आएको र परिवर्तनको संघारमा रहेको बेला नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार भने झन् बलियो बनेको छ ।   प्रदेश सभामा बलियो पकड बनाएका एकीकृत समाजवादीका नेता तथा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले प्रदेश सरकारलाई थप सशक्त बनाएर लैजाने बताए । सरकार परिवर्तन भन्दा पनि सुदृढ बनाएर लैजाने उनको भनाइ छ । 

नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका प्रमुख सचेतक अक्कल रावलले भने, ‘वाम गठबन्धनभित्रको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी ठूलो दल भएसँगै प्रदेश सरकार र गठबन्धन थप सुदृढ भयो ।’  सरकार बाहिर रहेको नेपाली कांग्रेस पनि चाँडैमा आउने सम्भावना रहेको बताउँदै प्रमुख सचेतक रावलले केन्द्रको राजनीतिक गतिविधिले फरक पार्ने उल्लेख गरे ।