कैलालीमा कांग्रेसको सदस्यता विवादले अधिवेशन अनिश्चित
2021/09/07, 1:57
 
aa

कैलालीमा नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ। क्रियाशील सदस्यतामा देखिएको विवाद नमिलेपछि वडा अधिवेशन अनिश्चित बनेको हो।

कांग्रेसका जिल्ला उपसभापति प्रकाश बमले सदस्यता विवाद नमिल्दा अधिवेशन अनिश्चित बनेको बताए। ‘२२ गतेभित्र गर्ने तयारी थियो तर सदस्यता विवाद अझै टुंगो लागेको छैन,’ उनले भने, ‘केन्द्रमा विवाद समाधानको प्रयास भइरहेको छ।’

उनका अनुसार जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १, लम्की चुहा नगरपालिका र कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यताबारे विवाद रहेको छ। ‘प्रक्रिया पूरा नगरी सिधै केन्द्रबाट पनि सदस्यता थप गर्ने कार्य भएको छ। त्यसैले विवाद बढेको हो,’ उपसभापति बमले भने। 

वडा अधिवेशन नै अनिश्चत बनेको अवस्थामा जिल्ला सभापतिका लागि भने दौडधुप सुरु भएको छ। कांग्रेसको जिल्ला सभापति पदका लागि वर्तमान उपसभापति बम, नेता नारायणदत्त भट्ट, नृपबहादुर ओड, डा रणबहादुर रावल, गणेश देउवा, खेमराज चौधरीलगायतका नेता आकांक्षी देखिएको चर्चा छ।

पार्टीका जिल्ला सभापति नरनारायण शाह दुई कार्यकाल सभापतिको जिम्मेवारीमा रहिसकेका छन्। तेस्रो कार्यकाल सभापतिमा उठ्न नपाइने कांग्रेसको विधानमा व्यवस्था छ।