मुख्यमन्त्री बनाउने सपना देखाईएका प्रकाश शाहको मन्त्री पद पनि गुम्यो
2021/09/08, 12:23
 
dd

सुदूरपश्चिम प्रदेश सरकार माओवादी केन्द्रको नेतृत्वमा भएपनि त्यो अडेको भने नेकपा एमालेको टेकोले थियो । दुई जना सांसद साथमा भए एमाले एक्लै सरकार बनाउने हैसियतमा थियो । केन्द्रमा एमाले र माओवादीकेन्द्रको एकतासंगै सम्बन्ध पनि टुटिसकेको अवस्थामा माओवादी केन्द्र माधव नेपाल पक्षलाई विश्वासमा लिईरहन सुदूरपश्चिममा आफ्नो नेतृत्वको सरकार साँचो माधव नेपाल पक्षलाई सुम्पिन तयार थियो ।

सुदूरपश्चिम प्रदेश सभामा एमालेका २५ जना सांसद भएपनि माधव नेपाल पक्षमा १७ सांसद थिए । माओवादी र माधव समूहको गठबन्धनबाट मात्र सरकार बन्न सक्ने अवस्था थियो । त्यही बेला माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बीचमा सुदूर पश्चिम प्रदेश सरकारको नेतृत्व माधव समूहलाई दिने सहमती भयो । सहमती अनुसार नेपाल पक्षका नेता भीम रावलले मुख्यमन्त्रीका रुपमा प्रकाश शाहलाई तयार रहन सुझाव दिए ।

नेकपा एमाले संसदीय दलका नेता रहेका शाहलाई साउन महिना भित्र मुख्यमन्त्री बनाउने रावलको आश्वासन थियो । र, शाह पनि मुख्यमन्त्री बन्न व्यग्र थिए । एमाले उच्च स्रोतले पश्चिम टुडेलाई दिएको जानकारी अनुसार शाह मुख्यमन्त्री बन्ने तय भईसकेको थियो । शाहले समेत आफ्नो मुख्यमन्त्री बन्ने अवसर गुमेको नेपाली काँग्रेस संसदीय दलका नेता रण बहादुर रावल समेत सहभागी भएको एक जमघटका क्रममा बताएका थिए । शाहले भनेका थिए, मलाई साउन भित्रै मुख्यमन्त्री बनाउने पक्का भईसकेको थियो । तर केन्द्रीय राजनीतिको असरले मुख्यमन्त्री बन्नबाट बञ्चित भए ।

तर त्यही बेला केन्द्रीय राजनीतिमा सर्बोच्चको फैसलापछि उथुलपुथल भयो । त्यसको असर सुदूरपश्चिम प्रदेश सभामा पनि पर्यो । र त्यो असरको शिकार भए, शाह । उनको मुख्यमन्त्री बन्ने संभावना टर्यो ।   सुदूरपश्चिम प्रदेश सभाका सबैभन्दा बलिया नेताले मुख्यमन्त्री बन्ने अवसर त गुमाए । उनले नेपालको नेतृत्वमा गठन भएको समाजवादी पार्टीका पक्षमा सनाखत नगर्दा मन्त्री पद पनि गुमाउनु पर्यो । र सरकारमा अल्पमतमा परेपछि शाहले मंगलवार मन्त्री पदबाटै राजिनामा दिए ।