कैलाली–कञ्चनपुरका १३८ स्थानमा सीसी क्यामेरा जडान
2021/09/09, 3:21
 
dd

सुदूरपश्चिम प्रदेश सरकारले कैलाली–कञ्चनपुरको १३८ स्थानमा सीसी क्यामेरा जडान गरेको छ। सरकारले कैलालीको पूर्वी क्षेत्र चिसापानीदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको गड्डाचौकी नाकासम्म र कैलालीको अत्तरिया बजारदेखि मोहन अत्तरिया छ लेन सडकअन्तर्गत त्रिनगर नाकासम्म १३८ स्थानमा सीसी क्यामेरा जडान गरेको हो।

सुदूरपश्चिममा पहिलोपटक यति ठूलो संख्यामा सीसी क्यामेरा जडान गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्रालयले जनाएको छ। प्रदेश सरकारले जडान गरेको सीसी क्यामेराले आपराधिक क्रियाकलाप रोकिने अपेक्षा गरिएको छ। सीसी क्यामेरा बजार क्षेत्र, दुर्घटनाको जोखिम बढी भएको ठाउँ, राजमार्गमा धेरै व्यक्ति जमघट हुने चौराहा, दोबाटो, सार्वजनिक सम्पत्ति रहेको क्षेत्र, सरकारी कार्यालय रहेका क्षेत्रमा जडान गरिएको  बताईएको छ।

यसअघि पनि कैलालीका केही स्थानमा सीसी क्यामेरा जडान गरिएको थियो। तर, तीमध्ये अधिकांश सीसी क्यामेरा अहिले प्रयोगविहीन अवस्थामा छन्। क्यामेराको रेखदेख प्रभावकारी नहुँदा यसअघिका ती उपकरण प्रयोगविहीन भएका हुन्। प्रदेश सरकारले भने प्रदेश प्रहरी कार्यालयलाई यसको सुरक्षाको जिम्मा दिने बताएको छ।