नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांगे्रसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८औँ जन्मजयन्तीका अवसरमा तत्कालीन सुन्दरीजल बन्दीगृहमा बिहीबार आयोजित विशेष कार्यक्रममा उनले बीपीको सपना पूरा गर्न महामन्त्री पदमा उम्मदवारी दिन लागेको बताए ।
“१५ वर्षभित्र सबै नेपालीलाई आफूजस्तै मध्यमस्तरको जीवनशैली यापन गर्न सक्ने हैसियतको बनाउने बीपीको दृष्टिकोण अझै पूरा हुन सकेको छैन, यो सपना पूरा गर्न मैले उम्मेद्वारी दिने घोषणा गरेको हुँ,” उनले भने । विसं २०१६ जेठ १३ गते प्रधानमन्त्री नियुक्त भएपछि बीपीले १५ वर्षभित्रमा गर्छु भनेको काम राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाले ३० वर्षसम्म पनि गर्न नसकेको नेता शर्माले बताए । आफू महामन्त्री भएर पार्टीलाई तीनवटा निर्वाचन जिताई बीपीको सपना पूरा गर्ने उनको प्रतिबद्धता छ ।
पार्टीमा युवा पुस्ता ऊर्जाका साथ नेतृत्वमा अघि बढेकाले बीपीको सपना पूरा गर्न सकिने प्रवक्ता शर्माले बताए । बीपीले दुई तिहाइ सरकारको कमीकमजोरी लेख्न सञ्चारमाध्यमलाई निश्चित बजेट व्यवस्थापन गरेर पत्रकारिता क्षेत्रको सम्मान गरेको परम्परालाई कांग्रेसले निरन्तरता दिने उनको भनाइ छ ।