नेपाली कांग्रेसको आइतबार हुने स्थानीय तहको अधिवेशनमा नेतृत्वका लागि कञ्चनपुरमा नेताहरू चुनावी प्रचारमा सक्रिय भएका छन्। स्थानीय तहका सभापतिका उम्मेदवारहरू चुनावी दौडधुपमा छन्।
कांग्रेस नेता कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि, वडा सभापति लगायतसित सहयोगका लागि भेटघाटमा व्यस्त छन् । सभापतिका उम्मेदवारहरूले चुनावी प्रचारका लागि सामाजिक सञ्जाल फेसबुकको समेत व्यापक प्रयोग गरेका छन् ।
स्थानीय तहका वडामा भदौ १८ गते अधिवेशन सकिएपछि पालिका अधिवेशन गर्न लागिएको हो। अधिवेशनमा कांग्रेस संस्थापनका दुईसहित पौडेल समूहका नेता चुनावी मैदानमा उत्रिएका छन्।
कञ्चनपुरमा कांग्रेस संस्थापनका रमेश लेखक र एनपी साउदको समूहबीच प्रतिस्पर्धा देखिएको छ । भीमदत्त नगरपालिकाको नगर सभापतिका लागि अच्युतराज कलौनी, आशिस खत्री र महेन्द्र खड्का चुनावी दौडमा छन् । उनीहरूमध्ये कलौनी र खत्री दुवै विद्यार्थी नेता हुन्।
लेखक समूहका कलौनी यसअघि अघिल्लो चुनावमा नगर सभापति पदमराज अवस्थीसित थोरै मत अन्तरले हारेका थिए। खत्री कांग्रेसको पौडेल समूहका हुन्।
नगर सभापतिका अर्का उम्मेदवार खड्का भीमदत्त नगरपालिका ६ का निवर्तमान वडा सभापति हुन । उनी एनपी साउदको समूहबाट नगर सभापतिको उम्मदेवार छन् ।
दोधारा चाँदनी नगरपालिकामा कांग्रेसका नगर सचिव राजेन्द्र मल्लसहित नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजाली, रामकृष्ण जोशी नगर सभापतिको दौडमा छन् ।
बेदकोट नगरपालिकामा कर्ण देउवा, नारायण बोहरा, पुष्पराज भट्ट नगर सभापतिका दाबेदार छन् । बेदकोट कांग्रेसका जिल्ला सभापति हरिप्रसाद बोहराको गृहनगर हो। उनी लेखक समूहका हुन्।
शुक्लाफाँटा नगरपालिकामा ज्ञानेन्द्र सिंह, धवल सिंह महरा, दानी ऐर, करन सिंह ऐर, तेजबहादुर शाह नगर सभापतिको दौडमा छन्। सबै जना एनपीकै पक्षका नेता हुन् । शुक्लाफाँटाका नगर प्रमुख दिलबहादुर ऐरलाई वडाबाट क्षेत्रीय प्रतिनिधि हुनबाट रोकिएको छ । यस क्षेत्रमा कांग्रेस नेता साउदको दबदबा छ।
कृष्णपुर नगरपालिकामा पुष्पराज भट्ट, विष्णु खडका, काशीराम भट्ट नगर सभापतिको उम्मेदवार छन्। उनीहरू सबै चुनावी प्रचारमा छन्।
लालझाडी गाउँपालकाको सभापतिमा राजेन्द्र राना र कृष्ण राना दाबेदार देखिएका छन् । उनीहरूबीच सहमति गरी सहमतिमा चयनका लागि छलफल गरिने कांग्रेस नेताहरू बताउँछन्।
पुनर्वास नगरपालिकामा शुकबहादुर तामाङ र दिलबहादुर तामाङ सभापतिमा प्रतिस्पर्धी देखिएका छन् । विक्रम चन्द, महादेव पाण्डे, खेमराज चौधरी, करसिंह नागरी बेलौरी कांग्रेसको सभापतिमा उम्मेदवार देखिएका छन्।
बेलडाँडीमा गजबहादुर विष्ट, सचिन कडायत र पृतबहादुर विष्ट सभापतिको दौडमा छन्। निर्वाचन क्षेत्र नं १ मा पर्ने बेलौरी, बेलडाँडी र पुनर्वासमा कांग्रेसको पौडेल समूहको प्रभाव छ। यस क्षेत्रमा कांग्रेस नेता दिवान सिंह विष्टको पकड बलियो छ।
वडाबाट निर्वाचित एक हजार ६ सय क्षेत्रीय प्रतिनिधिले अधिवेशनमा मतदान गर्न पाउने भएका छन्। कांग्रेस कञ्चनपुरका अनुसार बेलडाँडीबाट ८५, बेलौरी १ सय ८०, पुनर्वास १ सय ६९, लालझाडी ९२, कृष्णपुर १ सय ५१, शुक्लाफाँटा २ सय १, बेदकोट १ सय ६१, भीमदत्त ३ सय ८३ र दोधारा चाँदनी १ सय ६२ क्षेत्रीय प्रतिनिधि छनोट भएर आएका छन्।