सुदूरपश्चिममा प्रदेश पार्टी संयोजक कसलाई बनाउने भन्नेमा विवाद उत्पन्न भएपछि नेकपा एमालेमा एकताबद्ध बनाउन गरिएको १० बुँदे सहमति कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ।
खासगरी पार्टी स्थायी कमिटी सदस्य डा. भीम रावल र लेखराज भट्ट दुबैले सुदूरपश्चिम प्रदेशको संयोजक बन्ने अडान लिएपछि सहमति कार्यान्वयनमा असहजता उत्पन्न भएको हो। विवाद समाधानका लागि रावल, भट्ट र अर्का नेता कर्ण थापा छुट्टै आन्तरिक छलफलमा बसे पनि साम्य हुन नसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै उनीहरू बस्नुपर्ने स्थिति उत्पन्न भएको छ।ओलीसँग उनीहरू सकेसम्म शनिबार स्थायी कमिटी बैठकपछि या आइतबार बिहान यसबारे टुंगो लगाउनेगरी बस्ने तयारी छ।
रावल र भट्ट दुवैले सुदूरपश्चिम प्रदेश संयोजक हुनुपर्ने अडान नत्यागेपछि त्यसलाई सल्टाउने जिम्मेवारी अध्यक्ष ओलीको एकल काँधमा परेको हो। यस्तो अवस्थामा ओलीले प्रदेश संयोजकमा रावल या भट्ट कसलाई रोज्लान् ? तीव्र अड्कलबाजीको विषय बनेको छ।
ओली सरकारमा भट्ट नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका थिए। नेकपामा विवाद चुलिएका बेला भट्ट आफ्नो पूर्वपार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समूह त्यागी ओलीकै पक्षमा उभिएका थिए। राजनीतिक रूपमा दुई फ्याक भएको नेकपालाई सर्वोच्च अदालतले २३ फागुनमा भंग गरिदिएको थियो।