एकीकृत समाजवादी सुदूरपश्चिमको बैठक आज बस्दै, संसदीय दलको नेता चयन हुन सक्ने
2021/09/13, 10:54
 
ss

नेकपा एमालेबाट बिभाजनपछि सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेको नेकपा एकीकृत समाजवादीको पहिलो बैठक आज बस्ने भएको छ । दल गठनपछि पहिलो पटक बस्न लागेको बैठकले दललाई व्यवस्थित र एकताबद्ध बनाएर लैजाने विषयमा छलफल हुने बताईएको छ ।

यद्दपि आजकै बैठकबाट संसदीय दलको नेता समेत चयन गर्ने संभावना रहेको स्रोतले बतायो ।नेकपा समाजवादीका कञ्चनपुर अध्यक्ष तथा प्रदेश सभा सदस्य तारा लामा तामाङले समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुको बैठक बस्ने जानकारी दिए ।उनले बैठकको छलफलको एजेण्डा भने तय नभईसकेको बताए । लामाले भने, पार्टीलाई कसरी एकताबद्ध र व्यवस्थित गरेर लैजाने हाम्रो मुख्य ध्यान त्यसमै केन्द्रित हुनेछ ।  संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा पनि अहिलेसम्म छलफल नभएको स्रोतले बतायो ।

यद्दपि तारा लामा तामाङ र दीर्घ सोडारी मध्ये एक जना संसदीय दलको नेता बन्ने संभावना रहेको छ । आज बस्ने संसदीय संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गर्ने संभावना रहेको नेकपा एकीकृत समाजवादीकी संस्थापक केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्णा जोशीले बताईन् ।  बैठकमा संसदीय दलको नेता चयन,  दलको बिधान निर्माण र रिक्त रहेका मन्त्रालयहरुमा मन्त्री चयन गर्ने विषयमा छलफल हुने जोशीले बताईन् ।