डडेल्धुरामा विवादबीच नेपाली कांग्रेसको वडा अधिवेशन भएको छ। गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट कांग्रेस नेता आरजु राणा देउवा पनि क्षेत्रीय प्रतिनिधि बनेकी छन्। यो वडामा क्रियाशील सदस्यको सूचीमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुका एक मात्र सन्तान जयवीरसिंहको पनि नाम छ। तर जयवीरसिंह तत्काल पार्टी राजनीतिमा क्रियाशील नहुने भएका छन्। भदौ २५ मा भएको वडा अधिवेशनमा जयवीरसिंहले क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी नै दिएनन्।
‘उहाँ (जयवीरसिंह) क्रियाशील सदस्य हुनुहुन्छ तर उहाँले क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी दिने मन गर्नुभएन,’ वडा नम्बर १ का अध्यक्ष चेतराम भट्टले भने, ‘आरजुसहित १८ जनालाई क्षेत्रीय प्रतिनिधि पठाइएको छ।’ भट्टका अनुसार जयवीरसिंहले यसपालि क्षेत्रीय प्रतिनिधि बन्ने आकांक्षा पनि राखेका थिएनन्। वडा सभापतिमा भने ज्ञानुकुमारी सेठ्ठी भएकी छन्। वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन गरिएको भट्टले जानकारी दिए।
सभापति देउवाको क्रियाशील सदस्यता भने केन्द्रबाटै रहेको उनले बताए। डडेल्धुरामा क्रियाशील सदस्यतामा देखिएका विवादबीच वडा अधिवेशन भएका थिए। यहाँ जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले वडा अधिवेशनमा भाग लिएका थिएनन्। जिल्लाबाट पठाएको क्रियाशीलको नाम हटाएर केन्द्रबाट नाम थप गरेको मल्ललगायत उनी पक्षले बताइरहेका छन्।