डडेल्धुरामा देउवाले पेलेरै वडा अधिवेशन गराएपछि सानेपामा जुट्दै संस्थापनइतर समूह
2021/09/13, 2:48
 
dd

सभापति शेरबहादुर देउवाले डडेल्धुरामा प्रहरी प्रशासन लगाएर वडा अधिवेशन गराएको भन्दै संस्थापनइतर समूह सानेपामा छलफलमा जुट्ने भएका छन्। आज दिउँसो २ बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री डा शशांक कोइरालालगायत नेताहरु सानेपामा छलफलमा जुट्न लागेका हुन्।

कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले जिल्लाको क्रियाशील सदस्यतामा केन्द्रले धाँधली गरेको आरोप लगाउँदै आएका छन्। प्रक्रियागत रुपमा सिफारिस भएका ४६० जना क्रियाशील सदस्यताको सूची केन्द्रले काटेको र जिल्लाले पठाउँदै नपठाएको ३१२ जनाको नाम केन्द्रले जबरजस्ती थपेर अधिवेशन गराएको उनको आरोप लगाएका छन्। क्रियाशील विवाद नटुंगिएकोले मल्ल समूहले अधिवेशन बहिस्कार गरेको छ।

यता उपसभापति विमलेन्द्र निधिले पनि विवाद नटुंगाई डडेल्धुराको वडा अधिवेशन नगर्न देउवालाई पत्र लेखेका थिए। तर संस्थापनइतरको कसैको अनुरोधलाई स्विकार गरिएन र डडेल्धुरामा गत शुक्रवार ५२ वटै वडामा अधिवेशन भयो। अधिवेशन शान्तिपूर्ण रुपमा भएको जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जनाए। देउवा पक्षका नेता भीमबहादुर साउदले भने पटकपटकको सहमतिको प्रयासलाई मल्ल समूहले अस्विकार गरेपछि वडा अधिवेशन भएको दाबी गरेका छन्। यही विषयमा विवाद बढेपछि निर्वाचन समितिका केन्द्रीय संयोजक महादेव यादवले राजीनामा गरेका थिए। यद्यपि उनको राजीनामा देउवाले अस्विकृत गरिदिए।

यसैगरी संस्थापनइतरको भेटमा प्रदेश नम्बर दुई लगायतका जिल्लामा क्रियाशील सदस्यताको विवाद टुंगो नलगाएको विषयमा छलफल गर्ने भएका छन्। सभापति देउवाले डडेलधुरामा गराएको अधिवेशनपछि संस्थापन इतर समुह निष्पक्ष महाधिवेशन हुने सशंकित बनेको छ। देउवाले प्रदेश नम्बर दुईलगायत काठमाडौं, सिन्धुपाल्चोकलगायत आफू कमजोर भएको जिल्लामा क्रियाशील सदस्यतासमेत टुंगो लगाएका छैनन्। जसले गर्दा महाधिवेशन तोकिएको समयमा हुनेमा समेत कांग्रेसजन सशंकित बन्दै आएका छन्।